ताप्लेजुङ – फुङलिङ नगरपालिका ९ हाङदेवाको डाँडा आधारभुत विद्यालयले देउसी र भैलो खेलेर ५ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ सङ्कलन गरेको छ । देउसी अवधिभरमा ४८ हजार १ सय ३० रुपैयाँ मात्रै खर्च भएको विद्यालयले जनाएको छ ।
संविधानसभा सदस्य सञ्चपाल मादेन विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको विद्यालयले अक्षयकोष स्थापना गर्न र स्वर्ण महोत्सव मनाउन देउसीभैलो खेलेको जनाएको छ । ५० वर्ष पुरा गरेको विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि कोष नभएको र कुनै गतिविधि गर्न नसकिएको भन्दै विद्यालयले देउसी खेलेको प्रधानाध्यापक प्रेमबहादुर कार्कीले बताएका छन् ।
संविधानसभा सदस्य मादेन सहितको टोली देउसीभैलो लिएर सदरमुकाम फुङलिङसम्म पुगेका थिए । देउसीमा संलग्न विद्यार्थीलाई भने प्रोत्साहन स्वरुप करुवा लोटा, झोला प्रदान गरिएको विद्यालयले जनाएको छ । यो विद्यालयमा सशस्त्र द्वन्द्वको वेलापनि आगलागी भएको थियो । खर्च विवरण सार्वजनिक गर्दै विद्यालयले दान गर्ने सबैमा धन्यवाद प्रकट गरेको छ ।