१३ पुष २०८१, आइतबार

फक्ताङलुङ गाउँपालिकामा कोचिङ कक्षाका लागि डेढलाख सम्म

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, पुष ०२, २०८१

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कोचिङ पढाउन प्रति विद्यालय डेढ लाख रुपैयाँसम्म विनियोजन गरेको छ ।

अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाउनका लागि माध्यमिक विद्यालयलाई १ लाख ५० हजार र कक्षा ८ सम्मका लागि १ लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।

कक्षा ८ को परीक्षा केन्द्रीकृत गर्ने र ५ को परीक्षा टोलका विद्यालय मिलाएर गर्ने निर्णय पनि गरेको छ । यहाँ कक्षा ८ को परीक्षा र नतिजामा गत वर्ष देखिनै कडाइ गरिँदै आएको छ । तीन विषयमा विद्यार्थीहरू कमजोर भएकाले कोचिङ कक्षाको अवधारणा ल्याएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, गाउँपालिकाले शिक्षकहरूलाई त्रैमासिकरुपमा मात्रै तलबभत्ता खुवाउने निर्णय गरेको छ । गाउँपालिकाले मंगलबार बोलाएको पालिकाभरिका शिक्षकहरूको भेलामा गाउँपालिका अध्यक्ष लिम्बुले गाउँपालिकामा कर्मचारीको संख्या कम भएको र भौगोलिक विकटताका कारण समेत शिक्षकहरूलाई मासिकरुपमा नभई त्रैमासिकरुपमा नै तलबभत्ता उपलब्ध गराउन सहज हुने निर्णय सुनाए ।

यो पालिकाका घुन्सा, ओलाङचुङगोलाका शिक्षकलाई पालिका आउँदा र जाँदा पाँच दिनसम्म लाग्ने भएकाले बालबालिकाको पढाइपनि प्रभावित हुने अध्यक्ष लिम्बुको भनाइ छ । पालिकामा ४० वटा विद्यालय छन् । सरकारले शिक्षकलाई मासिक रुपमा तलब दिन देशभरका पालिकालाई यस अघिनै निर्देशन दिएको थियो ।

गाउँपालिकाले बोलाएको बैठक वा भेलामा बिना जानकारी अनुपस्थित हुने प्रधानाध्यापक तथा शिक्षकलाई लिखित स्पष्टिकरण सहित १५ सय रुपैयाँ जरिवाना गर्ने निर्णयपनि भेलाले गरेको लिम्बूले बताए । मङ्गलबार बोलाइएको भेलामा ३२ जनामात्रै उपस्थित थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066