१३ पुष २०८१, आइतबार

लेकको ‘पाहुना घर’

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, पुष ०५, २०८१

लक्ष्मी गौतम

पाँचथर : व्यवहार बुझ्न थालेपछि फिदिम–२ की तृष्णा राईलाई लाग्थ्यो, ‘अग्लो अनि एकान्त स्थलमा अलिकति जमिन र सानो घर होस् । सहरबजारको भीड, कोलाहल र प्रदूषणभन्दा टाढा रहने त्यो स्थानलाई आफ्नै संसार बनाएर रमाउन सकूँ ।’

२०७८ सालमा पाँचथर बहुमुखी क्याम्पसबाट स्नातक तहको अध्ययन पूरा गरेपछि श्रीमान् र बुबाआमाले उनलाई स्नातकोत्तर गर्न काठमाडौं जान सुझाए । कीर्तिपुरमा डेरा लिएर त्रिभुवन विश्वविद्यालयमा भर्ना भइन् । तीन महिना कक्षा पनि लिइन् । तर काठमाडौंको भीडभाड र प्रदूषणमा लामो समय टिक्नु आफ्ना लागि सगरमाथा आरोहण गर्नुभन्दा पनि कठिन भएको बताउँछिन् उनी ।

‘कलेजमा साथीभाइ भेट्दा त रमाइलो नै हुन्थ्यो,’ उनले उतिबेलाका दिन सम्झिन्, ‘छुटेपछि कोठा फर्केपछि सधैं दिग्दार लाग्ने । बाहिर निस्कँदा भीड र होहल्ला । त्यसकारण चार महिना नबित्दै घर फर्किएँ ।’

काठमाडौंबाट फर्किएपछि पढ्दै केही गर्नुपर्छ भन्ने सोच आयो । कोरियामा रहेका श्रीमान् र माइतीका बुबाआमासँग सल्लाह गरेर फिदिम नगरपालिका–२ बतासेमा एक रोपनी जग्गा किनिन् । त्यो जग्गामा उनले होमस्टे चलाउने सोचिन्, तर अलि फरक शैलीमा ।

घर कस्तो बनाउने रु के कस्ता सामग्री प्रयोग गर्ने अनि व्यवसायलाई कसरी फरकपन दिने रु श्रीमान्सँग सल्लाह हुन थाल्यो । ‘उहाँले रड, सिमेन्ट र सिसा प्रयोग गरेर बिल्डिङ बनाउने प्रस्ताव गर्नुभयो । तर मैले मानिनँ,’ उनले भनिन्, ‘मैले रैथाने सामग्री प्रयोग गरेर पितापुर्खाका पालाको झल्को दिने किसिमको मौलिक घर बनाउनुपर्ने बताएँ ।’ त्यसका लागि संस्कृति झल्काउने सामग्री राख्ने, वरिपरि फूल रोप्ने र आउने पर्यटक तथा ग्राहकलाई रैथाने बालीबाट तयार पारिएका परिकार खुवाउने योजनाबारे बताइन् उनले । ‘आफू पनि त्यस्तै खाएर रमाउने भन्दै जिद्दी गरेपछि श्रीमान् सहमत हुनुभयो र त्यसपछि तयार भयो मौलिक र कलात्मक शैलीको घर,’ २४ वर्षीया तृष्णाले भनिन् ।

तृष्णाको आफ्नै डिजाइनमा बनाइएको ‘पाहुना घर’ निकै आकर्षक छ । ढुंगामाटोको गारो, खरको छानो, काठ कुँदेर बुट्टा निकालिएको बार्दली, छेउछेउमा राखिएका लालटिन, बार्दलीमाथि झुुत्ता बनाएर झुन्ड्याइएका काली मकैका घोगा, चटक्क मिलेका बेडरुम, आँगनको भित्तामा संग्रहालय । संग्रहालयमा राखिएका डोको, डालो, नाम्लो, थुन्से, फुर्लङ, चिन्डो र चौंठोसहितका किरात सभ्यतामा आधारित परम्परागत सामग्री र अगाडिपट्टि चराको गुँड । यत्तिको कलात्मक संरचनालाई उनले पाहुना घर नामकरण गरेकी छन् । आजकल यही घरमा आउने आन्तरिक र बाह्य पर्यटकको स्वागत गर्न व्यस्त रहन्छिन् तृष्णा ।

शान्त र शालीन स्वभावकी उनी पाहुना घरमा आउने जोकोहीलाई हाते पत्तीबाट निर्मित रातो चिया निःशुल्क चखाउँछिन् । नास्तामा ढिँडो, सिस्नु, कोदो र फापरको रोटी, कोदोको हलुवा खुवाउँछिन् । खानामा सिजनअनुसारका रैथाने सागसब्जी रुचाउनेलाई कोदोको तोङ्बा र सुकुटी, स्थानीय कुखुराको मासु, मद्यपान गर्नेलाई कोदोबाटै बनेको तीनपाने रक्सी, आल्चा र खुर्पानीको वाइन आदि तृष्णाको पाहुना घरका विशेषता हुन् ।

चाहना गर्नेलाई किरात राई जातिका सांस्कृतिक पोसाकमा फोटो खिचाउने सुविधा पनि दिएकी छन् । झट्ट पुग्दा सुन्दर र आकर्षक लाग्ने पाहुना घरको बाहिरी आवरण र भित्रको सद्भाव जति आत्मीय छ । यो स्थान रमिता हेर्नका लागि उत्तिकै काइदाको पनि । ११ किलोमिटर तल फिदिम बजार नजिकै रमिते भ्युटावर, अलि माथि सर्पेडाँडा र लब्रेकुटी अनि ताप्लेजुङ र तेह्रथुमलगायत स्थान सजिलै देख्न सकिने ।

त्यही भएर पनि आजकल तृष्णाको पाहुना घरमा आन्तरिक र बाह्य पर्यटकको प्रायः भीड लाग्छ । फिदिम बजारको उखरमाउलो गर्मी छल्दै पृष्ठभूमिमा देखिने पर्यावरणसँग फोटो भिडियो कैद गर्न दैनिक १५र२० जना मान्छे त पुग्छन् नै । साँझ रैथाने बालीका परिकारको स्वाद चाख्दै बास बस्नेहरूको संख्या पनि उत्तिकै बाक्लो हुन्छ । उनको पाहुना घरमा पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, झापा, मोरङ, सुनसरीकालगायतका जिल्लाबाट आन्तरिकसँगै विदेशी पर्यटक पनि फाट्टफुट्ट देखिन्छन् ।

पाँचथरको बतासे डाँडा होमस्टे क्षेत्र हो । यहाँ २०७७ सालदेखि लालीखर्क बतासे सामुदायिक होमस्टे दर्ता भएर सञ्चालनमा थियो । तृष्णाले खरिद गरेको जग्गा बतासे होमस्टे क्षेत्रमा पर्छ । तृष्णाले पाहुना घरलाई लालीखर्क बतासे सामुदायिक होमस्टेमै दर्ता गरेकी छन् । दैनिक १५ देखि २० जनालाई खाना खुवाउन र रात बसाउन सकिने पाहुना घरमा भने उनी आफैं खट्छिन् । काममा सघाउनका लागि एकजना सहयोगी भने राखेकी छन् तृष्णाले ।

‘यहाँ जो आइपुग्नुहुन्छ, सबैजना सन्तुष्ट भएर नै फर्किनुहुन्छ,’ उनी भन्छिन्, ‘यसैमा खुसी छु । तृष्णा पाँचथर बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तरकी विद्यार्थीर् पनि हुन् । तृष्णाका श्रीमान् मोहन मगर कोरिया बस्छन् । आमा बाल विकास केन्द्रकी शिक्षिका हुन् । आमालाई भने यत्तिका पढेलेखेकी छोरीले व्यवसाय नगरेर जागिर खाइदिए हुन्थ्यो भन्ने लाग्छ । ‘स्नातकसम्म पढेर पनि पाहुना घर चलाएर बस्ने रु जागिर खानुपर्छ, भन्दै सुझाउनुहुन्छ,’ तृष्णा भन्छिन्, ‘जागिरभन्दा पनि जन्मथलोमै केही गरौं भनेर व्यवसाय सुरु गरेकी हुँ । गर्न खोजे गाउँबस्तीमै प्रशस्तै सम्भावना छन् । इमान्दारिता र लगनशीलताचाहिँ अवश्य चाहिन्छ ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066