विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीले जिम्मेवारी सम्हालेका छन् ।
नेपाल सरकार गृह मन्त्रालयको मंसिर २७ गतेको निर्णयानुसार विशेष ब्यूरोबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएर हाजिर भएका प्रहरी नायव महानिरीक्षक अधिकारीले बुधबार कार्यभार सम्हालेका हुन् ।
उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक अबिनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, कोश प्रदेश प्रहरी गण रानी, जिल्ला प्रहरी कार्यलय मोरङ, सुनसरीका प्रहरी प्रमुखसहितले स्वागत गरेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदभार ग्रहणपश्चात् डीआईजी अधिकारीले प्रदेशको शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, अपराधको विद्यमान अवस्था र चुनौती, प्रदेश प्रहरी कार्यालयद्वारा गरिएका नवीनतम् तथा रचनात्मक कार्यबारे जानकारी लिएका थिए ।
अधिकारीले उपस्थित प्रहरी अधिकृत तथा प्रहरी जवानहरूलाई आवश्यक निर्देशनसमेत दिएका थिए । प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राख्न अहोरात्र कर्तव्य पालन गर्नुपर्ने उनले बताए ।
सुरक्षा नै समाजको मेरूदण्ड भएको भन्दै उनले चुनौतीहरूलाई सामना गर्न निर्भीक र इमानदार भएर काम गर्नसमेत निर्देशन दिए ।
प्रदेशका हुने सवारी दुर्घटना, साइबर अपराध, लागूऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरूलाई नियन्त्रण र निरूत्साहित गर्न योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको डीआईजी अधिकारीले बताए ।