ताप्लेजुङ — विश्वको तेश्रो र नेपालको दोश्रो (८,५८६ मिटर उचाइ) अग्लो कञ्चनजंघा हिमालमा मानव पाइला पुगेको ७० औं वर्षको अवसरमा कञ्चनजंघा हीरक महोत्सव हुने भएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले बैशाख ५ देखि ७ गतेसम्म तीन दिने महोत्सवको आयोजना गरेको हो ।
कञ्चनजंघा क्षेत्रको लेलेपमा मनाइने महोत्सवमा यसवर्ष अहिलेसम्मका कञ्चनजंघा हिमालका आरोही (जीवित) र उनीहरूका परिवारलाई ल्याउने प्रयास गरिने आयोजकले जनाएका छन् । त्यसका लागि आरोही, उनीहरूका परिवारको विवरण सङ्कलन गर्ने काम भइरहेको महोत्सव आयोजक समितिका सदस्य सचिव मनकुमार राईले जानकारी दिए ।
अहिलेसम्ममा चार सय बढीले कञ्चनजंघा हिमाल आरोहण गरेको कञ्चनजंघा क्षेत्रको अनुमान छ । सन् १९५५ मे २५ का दिन बेलायती नागरिक जो ब्राउन र जर्ज क्रिस्टोफर ब्याण्डले पहिलो पटक कञ्चनजंघाको सफल आरोहण गरेका थिए । यसअघि २०७३ सालमा ६० वर्षको अवसरमा नेपाल सरकारकै आयोजनामा महोत्सव गरिएको थियो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सुकेटारमा महोत्सवको उद्घाटन गरेका थिए । यस वर्षको महोत्सव संयोजनका लागि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राई, कोषाध्यक्ष फुपुछेवन शेर्पा र यहाँ सञ्चालित समृद्ध पहाड कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत सञ्जीव न्यौपानेलाई तोकिएको छ ।
समृद्ध पहाडले महोत्सवका लागि २० लाख रुपैयाँ दिने भएको छ । सदस्य सचिव राईका अनुसार महोत्सवको लागत ७२ लाख रुपैयाँ अनुमान गरिएको छ । महोत्सवमा आरोहीको सम्मानका साथै स्थानीय उत्पादनको प्रदर्शनी, खाद्य परिकार, पालिकास्तरीय भलिबल प्रतियोगिता र कलाकारहरूको प्रस्तुती रहने उल्लेख छ ।