ताप्लेजुङ – तमु ल्होसार पर्व २०८१ को अवसरमा आयोजित स्वर्गीय पदमबहादुर गुरुङ स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि सङ्घर्ष स्पोर्टिङ क्लब उकालीपानीले जितेको छ ।
फुङ्लिङ नगरपालिका ६ लक्ष्मीटारमा आयोजित फाइनल खेलमा साथीभाइ युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उसले एक लाख ११ हजार रुपैया“ प्राप्त गर्यो । साथीभाईले ५१ हजारमा चित्त बुझाउनु पर्यो ।
सङ्घर्षका लागि कप्तान आशिष लिम्बुले खेलको १३ औं र १८ औं मिनेटमा गोल गरे । साथीभाइका मञ्जित लिम्बुले २८ औ मिनेटमा पहिलो गोल फर्काए । तर, ३४ औं मिनेटमा दिपेश लिम्बुले सङ्घर्षको लागि तेश्रो गोल गर्दै अग्रतालाई बलियो बनाए । साथीभाइका सुनियोजित लिम्बुले ४० औ मिनेटमा दोश्रो गोल गरे । ४४ औं मिनेटमा सङ्घर्षका सविन तामाङले चौथो गोल थपेसँगै समग्रमा ४–२ ले खेल टुङ्गियो ।
तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रीय परिषद्स“गको समन्वयमा ताप्लेजुङ स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेका हुन् । बलबहादुरको परिवारले प्रतियोगिता सञ्चालनकालागि आर्थिक सहयोग गरेका थिए ।