ताप्लेजुङ – नेपाल ह्दयरोग निवारण प्रतिष्ठानले हिमाली जिल्ला ताप्लेजुङका चार हजार २ सय ४७ जनाको मुटु परिक्षण गर्दा १० जना अप्रेसन गर्नु पर्ने भेटिएका छन् ।
फुङलिङ नगरपालिकाका ३९ विद्यालयमा मङ्गलबार गरिएको परीक्षणमा १० जना नियमित औषधि सेवन गर्नुपर्ने, ३३ जना मुटुमा समस्या भएका र एक वर्षपछि पुन परिक्षण गर्नुपर्ने १३ जना विद्यार्थी भेटिएको प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रकाश राज रेग्मीले बताए ।
फुङलिङको भानुजन मावि अम्विटार, जनतामावी हाङदेवा र युवाबर्ष मावि कैजलेमा विद्यार्थीहरूको मुटु परिक्षण गरिएको थियो । अप्रेसन गर्नुपर्नेलाई काठमाण्डु लगेर र नियमित औषधि सेवन गर्नुपर्ने लाई निशुल्क औषधि उपलब्ध गराउने रेग्मीले बताए ।
प्रतिष्ठानले ताप्लेजुङ, पा“चथर र इलामका १० हजार विद्यार्थीको मुटु परिक्षण गर्ने लक्ष राखेको जनाएको छ । तीनवटै जिल्लामा समस्यामा रहेका यस्ता बालबालिकाको उपचार निशुल्क गर्ने प्रतिष्ठानले जनाएको छ ।