०३ माघ २०८१, शुक्रबार

केबलकारको विषयमा भएको छलफल निष्कर्ष विहीन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, पुष २६, २०८१

ताप्लेजुङ – पाथीभरामा बन्ने केबलकारको विषयमा शनिवार बिहान भएको छलफल निष्कर्ष विहीन भएको छ । साढे तीन घण्टासम्म भएको छलफलमा निर्माण कम्पनी र नो केबलकार समुहले आआफ्नै अडान दोहोर्याएको छलफलमा सहभागीले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रतिनिधिसभाका सांसद लिलादेवी बोखिम, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, उद्योग वाणिज्य सङ्घका महासचिव कमल लिम्बू केबलकार निर्माण कम्पनीका प्रतिनिधि रुद्र पौडेल, किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन, चुम्लुङका जिल्ला सचिव सरोज कङलीवा, केबलकार खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बोमुक्कुमलुङ सङ्घर्ष समितिका श्री लिङ्खिम सहभागी थिए ।

 प्रशासन कार्यालयमा निर्माण कम्पनी र विरोधगर्ने समुहलाई भेला पारेर छलफल गराउने भूमिका सांसद बोखिम र उद्योग वाणिज्य सङ्घका लिम्बूले गरेका थिए । उद्योग वाणिज्य सङ्घका महासचिव लिम्बू छलफल सकारात्मक दिसामा आगाडि बढेको र फेरी छलफल हुनेगरि छुटेको बताउँछन । ‘यसअघि उहाँहरू (आन्दोलनरत समुह) आफ्नो कुरा राखेर उठेर हिडिहाल्नु हुन्थ्यो,’ लिम्बूले भने, ‘आज (शनिवार) को छलफलमा पुरै समय बस्नु भयो र दुवै पक्षले आ आआफ्नो कुरा खुलेर राख्नु भयो ।’ बिहान ९ वजे सुरु भएको छलफल मध्यान्ह १२ः३० बजेसम्म चलेको थियो । 

वार्तामा सहभागी आन्दोलनरत समुहका श्री लिखिम कुनैपनि हालतमा बन्न नदिने आफूहरूको अडान कायमै रहेको र कम्पनीलाई वातावरण नधमिल्याई फर्कन भनेको बताउँछन् । ‘आज खास तेस्तो छलफल पनि भएको होइन,’ श्रीले भने, ‘माननीय (लिला बोखिम) ज्यूले भेटौन भनेको हुनाले यसो भेटघाट गरेका मात्रै हौं ।’ कार्तिक २३ गते भरिया माथि खुकुरी प्रहार भएको, प्रशासनले मुद्दा दर्ता नगरेको, न्यायकालागि अदालत जानु पर्ने अवस्था भएको जस्ता कुरा आफूहरूले छलफलमा राखेको श्रीले बताए । 

कम्पनीका पौडेलले केबलकार बनेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने र आफूहरूको करोडौँ लगानी भइसकेकाले केबलकार बनाउने वातावरण बनाउन सहयोग गर्नुपर्ने प्रस्ताव दोहोर्याएका थिए । आफूहरूले अर्को कम्पनीसँग किनेको र किन्दासम्म विरोधका कुरा नबुझेकाले बनाउने वातावरण जिल्लाले बनाइदिनु पर्ने बताएका थिए ।

काफ्लेपाटीमा सशस्त्र प्रहरीको बेसक्याम्प राखेपछि उक्त क्षेत्रमा नो केबलकार समुहले लगातारजसो विरोध प्रदर्शन गर्दै आएका छन् । यता निर्माण कम्पनी प्रशासनको सहयोगमा काम अगाडि बढाउने तयारीमा छ । कम्पनीले स्काइभेटर मेशिन लगायतका उपकरण काफ्लेपाटीमै राखेका छन् । दुई पक्षविच आमने सामनेको जोखिम बढीरहदा सांसद बोखिम र वाणिज्य संघले छलफल गराएका हुन् । गत पुस २० गते उद्योग वाणिज्य संघले जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसदहरु योगेश भट्टराई, बोखिम, उर्मिला थेवे र कोही प्रदेशका मन्त्री खगेन सिं हाङगाम, सांसद तिलकुमार मेन्याङवो र निर्मला तावालाई भेला पारेर यो समस्या प्रति गम्भिर बनिदिन आग्रह गरेका थिए ।

सांसद बोखिम र वाणिज्य संघलेभने सनिवारको छलफलमा दुवै पक्षविच मन माझामाझ भएकाले अव हुने छलफल थप सकारात्मक हुने दावी गरेका छन् । अर्को बैठक फेरी छलफल गरेर तय गर्ने कमल बताउँछन् । पाथीभरा (मुक्कुमलुङ) माता केबलकार प्रालिले २.७ किलोमिटर दुरीको काफेपार्टी देखि मन्दीर छेउसम्म केबलकार वनाउने स्विकृती सरकारवाट लिएको छ । फुङलिङ नगरपालिकाले चार वर्षमा निर्माण सम्पन्न गर्ने र २० वर्षसम्म चलाउनेगरी अनुमती दिएको छ ।

 किरात याक्थुङ चुम्लुङ, मुक्कुमलुङ सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति लगायतका संघसंस्थाले लिम्बू समुदायको मुन्धुमीस्थल रहेको र यहा केबलकार वनाउन नमिल्ने भन्दै २०७४ सालदेखि विरोध जनाउदै आएका छन् । तीन  अर्ब लागतको आयोजना सहज वातावरण भए १३ महिनामा बनाइसक्ने निर्माण कम्पनिका पौडल बताउँछन्

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066