

ताप्लेजुङ — कञ्चनजंघा क्षेत्रमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काम गरिरहेको ‘ट्रेक ८५८६’ का सञ्चालक अमिर राई र मनोज बस्नेतले चेराम क्षेत्रमा तीनवटा ताल फेला पारेका छन् । उनीहरूले विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघाको दक्षिणी वेश क्याम्पमा पुगेका पर्यटकका लागि यो नयाँ र आकर्षक गन्तव्य हुनसक्ने दाबी गरे ।
सन् २०२५ को प्रारम्भ (जनवरी ३) मा यो क्षेत्रको भ्रमणमा गएका उनीहरूले गुगल म्यापको आधारमा चेरामबाट साढे तीन घण्टाको पैदलमा यी तालहरू भेटाएको र योभन्दा अघि यी तालहरू रेकर्डमा नरहेको दाबी गरे । पुरै जमेको र उपकरण अभावले तालको क्षेत्रफल यकिन गर्न नसकिएको उनीहरूको भनाइ छ । तर उनीहरूले ती तालको तस्विर भने सार्वजनिक गरेका छन् । यी ताल पाँच हजार मिटर माथि छन् ।
‘गत ज्येष्ठ महिनामा कावेली नदीमा बाढी आएको थियो, यहाँको एउटा ताल माथिबाट आएको पहिरोले त्यहीबेला फुटाएको जस्तो देखिन्छ,’ राईले भने, ‘एउटा ताल फुटेर दुईवटा भएछ, अर्को ठुलो छ ।’ ४ हजार १ सय मिटर उचाइबाट सुरु हुने यालुङ सिबुवा खोलामा मिसिन्छ । कञ्चनजंघाको साउथ वेसक्याम्पको ग्लेसियरबाट बहन सुरु गर्ने सिबुवा फक्ताङलुङ गाउँपालिका-६ तापेथोकको हेल्लोकमा पुगेर तमोर नदीमा मिसिन्छ ।
यी तालको नाम नभएकाले ठुलोको आफूहरूकै कम्पनी ‘ट्रेक ८५८६’ र फुटेर बनेको आशङ्का गरिएको दुई तालको ‘दाजुभाइ ताल’ नामाकरण गरेको राईले बताए ।
बस्नेत र आफू कम्पनीको दाजुभाइ भएर काम गरेको र दाजुभाइले पत्ता लगाएको अर्थमा दाजुभाइ नामाकरण गरेको उनको दाबी छ । कञ्चनजंघा हिमाल आरोहण तथा भ्रमणमा जानेहरू चेराममा बस्ने गरेका छन् । चेराम ३ हजार ८ सय ७० मिटर उचाइमा छ । यहाँ बस्ने पर्यटकलाई नजिकको गन्तव्यमा पुर्याउने उद्देश्यले तालको खोजी गरेको राई बताउँछन् । दुवै स्थानका ताल हेर्नका लागि आकर्षक भएकाले त्यहाँ पुग्ने विदेशीलाई लैजान सकिने तर पैदलमार्ग भने बनाउनुपर्ने उनको भनाइ छ ।
‘अहिलेका लागि हामी ठाउँ-ठाउँमा ढुङ्गा राखेर फर्कियौँ,’ उनले भने । सिरिजङ्गा गाउँपालिका-८ याम्फुदिनमा पर्ने योस्थान चेरामबाट यालुङ हुँदै पुगिन्छ । यालुङबाट नौसय मिटर उचाइमा छ । उकालो र हाई अल्टिच्युड भएकाले जाँदा बढी र फर्कँदा कम समय लाग्छ ।