

गायिका एलिना चाैहानको सम्बन्धविच्छेद भएपछि गायिकाद्वय रचना रिमाल र समीक्षा अधिकारीले उनलाई ढाडस दिएका छन् । मंगलबार काठमाडाैं जिल्ला अदालतले चाैहानको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो गरेको थियो ।
त्यसपछि गायिकाद्वय रिमाल र अधिकारीले एलिनालाई ढाडस दिँदै सामाजिक सञ्जालमा स्टाटस लेखका छन् । समीक्षा र रचना दुवैले एलिनालाई दिदी सम्बाेधन गरेर पत्र लेख्दै मनोबल उच्च पार्न आग्रह गरेका छन् ।
उनीहरूले आफूहरू सधैँ साथमा रहेको भन्दै एलिनालाई कमजोर महसुस नगर्न आग्रह गरेका छन् ।
के भनेकी छन् समीक्षाले ?
दिदी एलिना,
आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ । जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो ।
हिजो मलाई अन्यायविरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो । आज हिंसा र यातनाविरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ । सलाम छ ।
बहिनीका रूपमा म सधै तपाईंको साथमा रहिरहनेछु । Be strong
रचनाले के लेखिन् ?
प्रिय दिदी एलिना,
हाम्रो चिनजान त हामी सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो । हामी थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौँ । हामीले सुरुवाती चरणमै केही सांगीतिक कर्ममा सहकार्य गर्न पायौँ । हाम्रो सहकार्य हुँदैगर्दा नै हामी दिदीबहिनीबीच एक अटुट सम्बन्ध बनिसकेको रहेछ । हुन त झट्ट हेर्दा अरुको नजरमा हामीबीच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामीबीचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि ।
तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केही सीमित व्यक्तिले नखोजेका भने होइनन् । तर हामी निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रह्यौँ, एक अर्काको दु:ख सुख साटिरह्यौँ । हामी घण्टाैँ फोनमा र भिडियो कलमा हाँसेका छौँ, रोएका छौँ । दिदीको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउनुपर्छ अरु थाहा छैन’ भनेर तपाईंले खबर गरेदेखि म आफैँमा एउटा छुट्टै खुसी थियो, उमङ्ग थियो । बिहेको दिनमा एउटै कुरा मनमा थियो ‘कतै दिदी अब नेपाल बाहिरै बस्ने त होइन ?’
बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिएँ, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो । विवाहपश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदी तपाईं नेपाल नै आउनू है, यही मिलेर काम गर्नुपर्छ’ भनेर मैले धेरैपटक आग्रह गरेकी थिएँ ।
त्यसपछि तपाईं फर्कनु पनि भयो, सबै राम्रै भइरहेको थियो । तर पनि हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफूलाई नै पीडा महसुस हुन्थ्यो । अन्ततः आज तपाईंले एकदम ठूलो आँट र मनले यो निर्णय लिनुभएको छ । दिदी अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउँछु भन्ने ठूलो आशा छ । अरु खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुसी आफैँले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिएँ, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यू मेरी दिदी ।