

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले मनोनयन दर्ताबाट ५ लाख ३५ हजार रुपैयाँ उठाएको छ । अध्यक्ष पदका उम्मेद्वारबाट ५० हजारका दरले एक लाख रुपैयाँ उठाएको हो । प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षबाट २५ हजारका दरले ७५ हजार उठ्यो ।
द्वितीय र तृतीय उपाध्यक्षबाट एक लाख उठेको छ भने महासचिव वाट ५० हजार उठेको छ । सात जना निर्वाचित हुने पदाधिकारीबाट ३ लाख ३५ हजार उठेको छ ।
वाणिज्य सङ्घमा अध्यक्षका लागि ५० हजार र अन्य पदाधिकारीका लागि २५ हजारका दरले मनोनयन शुल्क तोकिएको थियो । १४ सदस्यकालागि २१ जनाको उम्मेद्वारी परेको छ । सदस्यका उम्मेद्वार बाट २ लाख १० हजार उठेको छ ।
बिल काटेपछि मात्रै मनोनयन दर्ता हुने भएकाले यो रकम नगदै उठेको वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिएका छन् ।
वाणिज्य सङ्घमा प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्ष बाहेक सबै पदमा एक भन्दा वढी उम्मेद्वारी परेको छ । शान्ति मादेन प्रथम उपाध्यक्ष, खेमराज केसी सचिव र युवराज महतारा कोषाध्यक्षमा निर्विरोध भएका छन् ।