

ताप्लेजुङ – नो केबलकार समुहले चैत्र २५ गतेदेखि घोषणा गरेको यातायात बन्दको कार्यक्रम स्थगित गरेका छन् । नो केबलकार समुहका एकजना अगुवा राम मादेनले सर्वोच्च अदालतले चैत्र २६ गते छलफलका लागि बोलाएको र त्यसलाई दृष्टिगत गरी बन्दको कार्यक्रम स्थगित गरिएको बताए ।
समुहले ताप्लेजुङ जिल्ला सहित पाँचथर, इलाम हुँदै झापाको चारआली जोड्ने मेची राजमार्ग र पाँचथर हुँदै धनकुटाको मूलघाट तथा काँकरभिट्टा देखिको एसियन हाइवे बन्दको आव्हान गरेका थिए । बन्दको प्रचारका कारण यसवर्ष अघिल्ला वर्षहरू जस्तो तीर्थयात्री पाथीभरा आउन पाएका छैनन् । बन्दको मारमा पर्ने त्रासका कारण तीर्थयात्रीको सङख्यामा कमी आएको ताप्लेजुङका होटल व्यवसायिले वताएका छन् ।
पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क अनुसार अघिल्ला वर्षहरूमा चैते दशैं तथा नयाँ वर्षको आसपासमा दैनिक १७ हजारसम्म मन्दिर दर्शनकालागि पुगेका थिए । यसवर्ष सबैभन्दा वढी एक हजार सात सयको हाराहारी मात्रै रहेको समितिले जनाएको छ । यातायात बन्द स्थगनको सन्देश सँगै तीर्थयात्रीको सङ्ख्या बढ्ने अपेक्षा गरिएको पाथीभरा माथिल्लो फेदी होटल व्यवसायी सङ्घका अध्यक्ष इन्द्र नारायण भट्टराई बताउँछन ।
केबलकार निर्माणमा विवाद भइरहदा आन्दोलनरत समुहले निर्माणको काम स्थगित र खारेजीको अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अन्तरिम आदेश दिनु पर्ने नपर्ने भन्ने विषयमा दुई पक्षबीच बुझ्नु पर्ने भएको भन्दै सर्वोच्चले निर्माण कम्पनी र रिट दायर गर्ने नो केबलकार समुहलाई छलफलका लागि बोलाएको छ । त्यतिबेलासम्म काम स्थगित गर्नपनि आदेश दिएको छ ।
अदालतको आदेशसँगै निर्माणको काम स्थगित गरिएको पाथीभरा माता केबलकार कम्पनीका सम्पर्क अधिकृत रुद्र पौडेलले बताए । यहा केबलकार निर्माणको पक्ष र विपक्षमा बिबाद तथा झडप समेत हुँदै आएको छ । यो विषय अहिले संघीय सरकार र सर्वोच्च अदालतसम्म पुगेको छ ।