

ताप्लेजुङ – शैक्षिक सत्र २०८२ का लागि ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री सुरु भएको छ । नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङले गतवर्षको तुलनामा एक साता ढिलोगरी पुस्तक बिक्री खुला गरेको हो
। स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार कक्षा १ देखि १० कक्षा सम्मकै पुस्तकहरू आइसकेको छ । ‘कक्षा ७ सम्मको अङ्ग्रेजी ट्रान्सलेट पुस्तकपनि ल्याइसकिएको छ,’ मिश्रले भने, ‘१ देखि १० सम्मका १५ सय सेटको दरले छ, ७ सम्मको अङ्ग्रेजी अनुवाद र लिम्बू भाषा अनिपानको पाँच सय सेटका दरले आइपुगेको छ ।’
महासङ्घले ताप्लेजुङमा एकै ठाउँबाट पुस्तक बिक्री गर्दै आएको छ । गतवर्ष चैत्र दोश्रो सातादेखि वितरण थालेको थियो । सदरमुकाम फुङलिङबाट भने विद्यालय आफैँले ढुवानी गरेर लानुपर्ने प्रावधान रहेको छ । यतिबेला ढुवानी गर्दा फक्ताङलुङ, सिरिजङ्गा, सिदिङवा गाउँपालिकाका विद्यालयमा बैशाख पहिलो साता पुर्याउन हम्मे हुने गरेको छ ।
जिल्लामा अहिले तीन सय ३० सामुदायिक, विद्यालय छन् । यी मध्ये ६१ वटा माध्यमिक र बाँकी आधारभूत तहका छन् ।