

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिकाले योजना सञ्चालनमा विद्यालयलाई रोक लगाएको छ । गाउँपालिका तथा विभिन्न निकायबाट प्राप्त बजेट कार्यान्वयन गराउन र त्यसको कागजात मिलाउन शिक्षकहरू हिँड्दा बालकबालिकाको पढाइमा असर परेको भन्दै रोक लगाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिए ।
विद्यालयले निर्माण, खरिद, जस्ता योजना आयोजना विद्यालय मार्फत नगराई आफ्नो वडाका टोल विकास संस्था वा गाउँपालिका मार्फत कार्यान्वयन गराउन निर्देशन दिएको विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् । विद्यालयमा पर्याप्त मात्रामा शिक्षक नभएका र कम भएका शिक्षकपनि यसरी हिँड्दा बालबालिकाको पढाइमा गम्भीर असर परेको बुझाई अध्यक्षको छ । योजना सञ्चालनको कागजात मिलाउन प्रधानाध्यापकहरू धाउनुपर्ने वाध्यतामा छन् ।
फक्ताङलुङ गाउँपालिकाले बैशाख २ देखि एक सातासम्म भर्ना अभियान सञ्चालन गर्न र अभिभावक सँग छलफल गर्नपनि परिपत्र गरेका छन् । ‘आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकको घरघरमा पुगेर अन्तरक्रिया गर्न, विद्यालय क्षेत्रका टोलमा गएर बालकालिका विद्यालय पठाउन अभिभावकलाई कन्भिन्स गर्न र त्यसको फोटो सहितको प्रतिवेदन पठाउन निर्देशन आएको छ’ रानी आधारभुत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले भने ।