

ताप्लेजुङ – पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सबै तहका जनप्रतिनिधि, पार्टीको सिफारिसमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूले पार्टीले तोकेको लेबी नबुझाएसम्म क्रियाशील सदस्यता प्राप्त नगर्ने भएका छन् । नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको आइतबार बसेको मासिक बैठकले नेता लगायतका पार्टी निर्णयद्वारा तोकिएको लेबी, सहयोग, दायित्व नतिर्ने क्रियाशील सदस्यको चुक्ता नगरी क्रियाशील सिफारिस नहुने निर्णय भएको हो ।
बैशाख १५ गते भित्र जिल्लाका क्रियाशील सदस्यको विवरण र शुल्क केन्द्रमा बुझाउने निर्णयपनि गरेको छ । काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङको २०७८ कार्तिक २७ गतेको बैठकले पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यकालागि पाँच हजार, प्रदेश सभा सदस्यका लागि २५ सय, जिल्ला समन्वय समिति प्रमुख दुई हजार, उप प्रमुखकालागि १५ सय, सदस्यका लागि पाँच सय, गाउँपालिका प्रमुख दुई हजार, उपप्रमुखका लागि १५ सय तोकिएको छ । वडाध्यक्षलाई पाँच सय, कार्यपालिका सदस्य तीन सय, वडा सदस्य दुई सय, जिल्ला जिल्ला कार्य समितिका पदाधिकारी र महासमिति सदस्यका लागि पाँच सय, सदस्यका लागि दुई सय ५०, महाधिवेशन प्रतिनिधिका लागि तीन सय, आमन्त्रित जिल्ला सदस्यलाई एक सय र लाभको पदमा राजनीतिक नियुक्ति प्राप्त पदाधिकारी तथा सदस्यका लागि मासिक खाइपिई आएको तलब भत्ताको २.५ प्रतिशत लाग्ने निर्णय गरिएको छ ।
भातृ तथा शुभेच्छुक संस्था, जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गराउन निर्देशन गर्ने र विभागीय समितिलाई सकृय गराई विभागीय जिम्मेवारी सम्पादन गराउने निर्णयपनि गरेको पार्टी सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिए । वडा कार्य समितिलाई सकृय गराई पार्टी प्रवेश गर्न चाहने नेता कार्यकर्तालाई प्रोत्साहन गराउने निर्णयपनि जिल्ला कार्य समितिले गरेको छ ।
२०८२ सालको बैठक गाउँपालिकामा गर्ने निर्णय गरेको काङ्ग्रेसले आगामी महिनादेखिको बैठक गाउँपालिकामा हुने भएको छ । पहिलो मासिक घुम्ती बैठक ज्येष्ठ ७ गते मेरिङदेन गाउँपालिकामा गर्ने निर्णय भएको तुम्याहाङले बताए ।