०९ बैशाख २०८२, मंगलबार

यसरी पाथीभरा आएका थिए दुर्घटनामा परेकाहरु

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, बैशाख ०८, २०८२

ताप्लेजुङ — ललितपुर महानगरपालिका-१० निवासी ४५ वर्षीया सविना पौडेल छोराछोरी र बुवाआमालाई लिएर पाथीभरा दर्शनका लागि ताप्लेजुङ आइपुगेकी थिइन्। आइतबार बेलुका फुङलिङ आएका उनीहरू होटल प्यारिजमा बास बसेका थिए।

सविनासँगै छोरा १० वर्षीय भबिमय आचार्य, १६ वर्षीया छोरी आध्या आचार्य, माइतीका बुबा झापा भद्रपुर नगरपालिका-१५ निवासी ७० वर्षीय विनोद पौडेल र आमा ६९ वर्षीया सरिता पौडेल थिए।

होटलमा बास बसेपछि सविनाले होटल सञ्चालक सविन बानियाँलाई बिहान काफ्लेपाटीसम्म पुग्ने ट्याक्सी व्यवस्थापन गरिदिन आग्रह गरिन्। सविनले मालिकसमेत रहेका ट्याक्सी चालक फुङलिङ नगरपालिका-१० फुरुम्बु निवासी ४२ वर्षीय दुर्गा भट्टराईलाई सम्पर्क गराइदिए। सोमबार बिहान मन्दिरमा पूजा गर्ने गरी पुग्ने र दिउँसो फर्किहाल्ने गरी उनीहरू पाथीभरा जाने निधो भयो।

चालक भट्टराई बिहान ३ बजेतिरै गाडी लिएर होटलमा पुगे। सविनाको टोली तयारी भएर निस्किँदा ३ : ३० भयो। उनीहरू फुङलिङबाट काफ्लेपाटीतर्फ अगाडी बढे। सेवारो चोक भन्ने स्थानमा पुग्दा सडकमा खाल्टाखुल्टी थियो।

वर्षौदेखि यही रुटमा गाडी कुदाइरहेका चालक भट्टराईले सडकको खाल्टो छल्दै विजुलीको पोल नजिकबाट गाडी अगाडि बढाए। उनले बिजुलीको तार माथिबाट झरेको पत्तै पाएनन्। तारमा बोलेरो जीप ठोक्किने बित्तिकै गाडीमा आगजनी भयो। करेन्ट प्रवाह भयो। उनीहरू गाडी छोडेर भाग्न समेत भ्याएनन्।

आगलागीमा परी चालक भट्टराईसहित सविनाका छोरी आध्या, बुबा विनोद र आमा सरिताको घटनास्थलमै ज्यान गयो। सविना गाडीबाट ओर्लिन भ्याइन् भने छोरा भविमय अलि छिटो निस्किएकाले उनलाई कम चोट लागेको छ।

उनीहरूभन्दा पछाडि रहेको गाडीमा थियो भरतपुर नगरपालिका-४ चितवनका जनार्दन भण्डारीसहितको टोली। दुर्घटनामा घाइते भएका भविमय जलिरहेको गाडी छोडेर भण्डारी चढेको गाडी रोक्न सडकमा उभिए। बिजुलीको तारमा छोएको गाडी जलिरहेको थियो।

पछाडिको गाडीबाट पाथीभरा जाँदै गरेका भण्डारीले जलिरहेको गाडी छेऊमा सविनाले हात उठाइरहेको देखे। सविना जलिरहेको गाडीबाट डेढ मिटर नजिकमा लडेकी थिइन्। उनलाई तानेर पर सारे। भण्डारीका अनुसार जलिरहेको गाडीमा रहेका चालकसहितका चारजनालाई उद्धार गर्ने अवस्था थिएन।

त्यहाँ न एम्बुलेन्स थियो, न अरू सवारी । त्यसपछि भण्डारीले आफू चढेर पाथीभरा जाँदै गरेको गाडी फर्काए, घाइते सविना र भविमयलाई बोकेर फुङलिङतर्फ फर्किए। ‘सविना अचेत अवस्थामा थिइन्। सानो भाइ बोल्दै थिए,’ भण्डारीले भने, ‘हामी फर्किएर सुकेटार आइपुग्दा एम्बुलेन्स जाँदै थियो। त्यसपछि घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल ल्यायौँ।’

ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि सविनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ। उनका श्रीमान् काठमाडौँको एक निजी अस्पतालमा नसारोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनकै पहलमा घाइतेहरूलाई हेलिकोप्टरमार्फत काठमाडौँ उपचारका लागि लगिएको हो ।

यता बिद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश प्रसाद चौधरीले भने गए रातिको वर्षा र चट्याङले तारको पिन फुटाएका कारण तार लत्रिएको दाबी गरेका छन्। ‘चट्याङले हुनसक्छ, तारको पिन फुटाएको रहेछ,’ उनले भने, ‘हामीले पहिल्यै थाहा पाएनौं। बिहानै यस्तो दुर्घटना भयो।’

तर प्राधिकरणले नियमित अनुगमन र मर्मतसम्भार नगर्दा यस क्षेत्रमा विद्युतका पोल जताततै विद्युतीय धराप जस्ता देखिन्छन्। बिजुलीका पोलहरू ढल्किएका छन् भने कतिपय ठाउँमा अझैपनि तार लत्रिएको अवस्थामा रहेका छन्।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066