

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतको सम्बन्धविच्छेद मुद्दा सहमतिमा टुंगिएको छ । उनीहरु सम्वन्धविच्छेदबिनै एक–अर्कासँग अलग हुन राजी भएका छन् ।
०८१ भदौं १२ मा ललितपुर जिल्ला अदालतमा राउतले पत्नी सोनी सिन्धु रानीसँग कानूनतः अलग हुनका लागि मुद्दा दायर गरेका थिए । सो मुद्दालाई मंगलबार न्यायाधीश निर्मला योङ्याको एकल इजलासले मिलापत्रमा पठाउने आदेश दिएपश्चात बुधबार सहमति भएको हो ।
सहमतिअनुसार डा. राउत र पत्नी सोनी सँगै बस्ने छैनन् । राउतले पत्नीलाई आजीवन मासिक ३३ हजार हजार रूपैयाँ दिन सहमति जनाएका छन् । यो रकम हरेक वर्ष १० प्रतिशत बढाउनुपर्ने सहमतिपत्रमा उल्लेख छ ।
डा. राउत दम्पत्तिका तीन सन्तान (दुई छोरी र एक छोरा) छन् । तीनै सन्तानलाई बाबुसँग रहने र उनैले पालनपोषण गर्ने सहमति समेत भएको छ । राउतले आफ्नो सम्पत्तिको पाँच भाग लगाएर एक भाग पत्नीलाई दिनेछन् । सन्तानको भागमा पर्ने तीन भाग सम्पत्ति राउतकै नाममा रहनेछ । भविष्यमा गर्ने कमाईमा पत्नी सोनीको हक लाग्ने छैन । राउतले पत्नीलाई अंशबापत काठमाडौंमा दिएको जग्गामा घर बनाइदिने पनि सहमति गरेका छन् ।
पत्नीसँग सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेपछि डा. राउतको मधेशमा आलोचना भइरहेको थियो । सम्वन्धविच्छेद नचाहेकी पत्नीलाई जबरजस्ति अलग गर्न खोजेको आरोप राउतले खेपिरहेका थिए । यही दवावमा परेकाले उनी यो सम्झौता गर्न राजी भएको बुझिएको छ ।
सम्बन्ध बिग्रेपछि उनीहरू एक अर्कोविरुद्ध मिडियामार्फत् खनिदै आएका थिए । अब एकअर्काको आलोचना नगर्ने पनि सहमति भएको डा. राउत निकट एक नेताले सुनाए ।
मुद्दा सहमतिमा टुङ्गिएपछि डा. राउतले आफ्नो सचिवालयको फेसबुक पेजमा पत्नीसँगको तस्बिर पोष्ट गरेका छन् । सो पोष्ट अहिले उनका समर्थकहरूले शेयर गर्दै खुशी मनाइरहेका छन् ।
यो सहमतिपछि पनि सिके राउत र सिन्धु कानूनतः श्रीमान–श्रीमतीकै सम्वन्धमा रहन्छन् । यसले दुवैजनालाई अर्को विहे गर्ने बाटो खुल्दैन । व्यवहारिका रुपमा भने उनीहरु अलग–अलग भएका छन् ।
यस्तो थियो आरोप प्रत्यारोप
सीके राउत सम्बन्ध विच्छेद मुद्दा लिएर अदालत जानु अघिसम्म इमाडोलमा पत्नीसँग एउटै घरमा बस्दै आएका थिए । अदालतमा मुद्दा दायरपछि उनीहरुबीचको घर झगडा छताछुल्ल भएको थियो ।
पत्नी सिन्धु रानीले मिडियामै आएर राउतमाथि विभिन्न आरोपहरु लगाएकी थिइन् । श्रीमानले अर्को विहे गर्नकै लागि आफूसँग अलग्गिन खोजेको उनको दावी थियो । साथै, श्रीमानले आफूलाई मार्न गुण्डा लगाएको र घरबाट निस्किने वित्तिकै पिछा गर्ने गरेको भन्दै उनले आफ्नो ज्यानको खतरा रहेको समेत बताएकी थिइन् ।
श्रीमतीको सो आरोपछि राउत उल्टै शान्ति सुरक्षाको माग गर्दै पहिले नै प्रहरीमा पुगेका थिए । उनले प्रहरी प्रभाग इमाडोलमा शान्ति सुरक्षा माग्दै निवेदन दिए । लगत्तै उनकी पत्नी सोनीले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिइन् ।
राउतले पत्नीकै कारण बस्न सक्ने स्थिति नभएको निवेदनमा उल्लेख गरेका थिए । राउतले मिडियामा समेत पत्नीबारे भनेका थिए, ‘कहिले आत्महत्या गर्छु भन्छे, कहिले तोडफोड गर्छे । बस्न सक्ने अवस्था नै नदेखेपछि बाध्य भएर अदालत गएँ ।’
सिन्धु रानीले भने श्रीमानले निरन्तर सम्बन्ध विच्छेद गर्न दबाब दिएको र नगरे जे पनि गर्न सक्छु भन्दै धम्की दिएको प्रहरीमा दिएको ठाडो निवेदनमा उल्लेख गरेकी थिइन् ।
उनले निवेदनमा भनेकी थिइन्, ‘मेरो पहुँच माथिल्लो निकाय, सरकारसम्म छ, म चाहेको खण्डमा जे पनि गर्न सक्छु, तिमी मसँग नबस, हाडीगाउँको घरमा जाऊ भनि दबाब दिँदै ज्यान सम्बन्धी धाकधम्की दिएको हुँदा असुरक्षित महसुस गरेको छ ।’
यो समाचार नेपाल प्रेसवाट साभार गरिएको हो ।