१६ पुष २०८१, बुधबार

अन्त्येष्टिमा एउटा वडाध्यक्षको योजना : घरदेखि घाटसम्म…

Logo
ताप्लेजुङ प्रेस आइतबार, आषाढ ३०, २०८१

ताप्लेजुङ । गत वर्षको भदौ २७ गते फुङलिङ नगरपालिका – ८ बेजम्बुका लिला पौडेलको निधन हुँदा मध्य दिन थियो । ब्राम्हण समुदायमा अझै पनि दिवंगत भएकै दिनको अन्त्येष्टिलाई सुखद परलोकको रूपमा लिने प्रचलन छ । घर र घाटको दुरी एक तर्फी ३ घण्टाको पैदलमा भएकाले सोही दिन अन्त्येष्टि गर्न चुनौती पूर्ण पनि थियो । त्यसमा पनि झाडी फा“ड्दै घाट जानुपर्ने बाध्यता ।

स्थानीय गुरुभक्ती नेपालको नेतृत्वमा मेवाराजा टोलबाट गएका युुवकले झाडी फाँडे । अन्य आफन्तले शव लिएर तमोर नदीको धुसेनी घाटमा पुर्याए । दिउँसोको समय कार्यालय, अन्य कामकाजमा गएकाले मलामिको संख्या ३५/४० मात्र थियो । घाटबाट फर्किएका मलामीलाई किरिया पुत्री घरमा पुर्याउदा रातको झण्डै ११ बज्यो ।

२०८१ बैशाख २६ गते सालिम्बेका लक्ष्मी पौडेलको निधन भयो । दोखु गाविसका उप–प्रधानपञ्च, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायतको जिम्मेवारी पुरा गरेका उनको अन्त्येष्टि काबेली नदीमा भयो । परिवारका सदस्यले घर छेउबाटै यातायातको व्यवस्था गरेर २१ किलोमिटर दुरीको काबेली नदीमा पुर्याए ।

म वडाध्यक्ष रहँदै आफन्तको शव वरिपरि बसेर परिवारका सदस्य अन्त्येष्टि स्थलमा पुगुन भन्ने छ । त्यसकालागि शव वाहन र अन्त्येष्टि स्थललाई व्यवस्थित बनाउनु पर्छ । अब टोल–टोलमा सडक पुगेको छ । बिगतकै जस्तो काँधमा लाश बोकेर घण्टौं हिड्नु नपरोस भन्ने चाहना हो ।

यी दुवै अन्त्येष्टिका साक्षी यसै वडाका वडाध्यक्ष क्षितिज सुनुवारलाई बियोगान्त पछिको व्यवस्थापनलाई कसरी सहज बनाउने भन्ने चिन्ता भयो । पहाडबाट तराई बसाइँसर्नेको क्रम उच्च छ । उनैको वडाबाट हरेकवर्ष ८/१० घर बसाइँ जान्छन् । बसाइँ जानेको सूचीमा तुलनात्मक रूपमा सबैभन्दा बढी ब्राम्ह्ण समुदायका छन् । ‘बसाइँ हिड्नेहरूको मुखबाट समाज सकियो । अब के बस्नु भन्ने हिनताबोध सुनेको छु,’ क्षितिजले थपे, ‘यसलाई घटाउने धेरै मध्येको एउटा उपाय अन्त्येष्टिलाई सहज बनाउनु पर्छ भन्ने लाग्छ ।’ यसकालागि उनले आगामी साउनदेखि मृतकका परिवारलाई सहज होस् भनेर १० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् । तर, उनी यसको धेरै प्रचार गर्न भने चाहँदैनन् । उनलाई अन्त्येष्टि कार्यमा परिवारले खर्च गर्नु नपरोस् भन्ने लाग्छ ।

वडाध्यक्ष सुनुवार अगाडी भन्छन्, ‘आफू वडाध्यक्ष रहँदै मृतकको शवको वरिपरि बसेर परिवारका सदस्य अन्त्येष्टि स्थलमा पुगुन भन्ने छ । त्यसकालागि शव वाहन र अन्त्येष्टि स्थललाई व्यवस्थित बनाउनु पर्छ । अब टोल–टोलमा सडक पुगेको छ । बिगतकै जस्तो का“धमा लाश बोकेर घण्टौं हिड्नु नपरोस भन्ने चाहना हो,’ क्षितिजले थपे, ‘आकस्मिक आइपर्ने दुःखमा खर्च कसरी जोहो गर्ने भन्ने चिन्ता पनि नहोस ।’

बाचुञ्जेल समाजमा केही न केही योगदान गर्नेहरूको मृत्यूमा राज्य स“गैं छ भन्ने आभास दिलाउनु पर्ने उनको तर्क छ । अन्त्येष्टि देखि सुद्धाईसम्ममा एउटा परिवारको सामान्य पनि अढाई देखि तीन लाख सम्म खर्च हुने आँकलन वडाको छ । वडा सचीव हरीप्रसाद बराल कतीपय बुढापाकाले ‘मरेपछि कात्रो किन्ने पनि थिएन अरे नभनुन् भनेर’ सामाजिक सुरक्षा भत्ताको पैसा छुट्याएर राख्ने गरेको पाएको पनि बताउ“छन् । ‘मृत्यूपछिका लागि औषधि पनि नखाएर पैसा च्यापेर राख्ने गरेको पनि पाएको छु’ बरालले भने ।

यो राजनीतिक लाभकालागि नभएर समाजका लागि गर्नुपर्ने कर्तव्य भएको वडाध्यक्ष क्षितिजको तर्क छ । तमोर नदी देखि सुकेटार सम्म फैलिएको उनको वडाका वासिन्दाले आफ्नो वडाको पुछारदेखि सिरानसम्म पुग्न चार घण्टासम्म पैदल हिड्नुपर्छ ।

पहाडमा सबैजसो जातजातीको आ–आफ्नै अन्त्येष्टिस्थल हुन्छ । ब्राम्हण, क्षेत्री, दलित लगायतले खोला किनारमा लगेर अन्त्येष्टि गर्छन् । लिम्वू, गुरुङ, राई लगायतका समुदालयले चिहानडाँडामा लगेर खाल्टो खनेर पुर्ने वा जलाउने गर्छन् । खाल्टोमा राख्नेको तुलनामा खोलामा लैजानेहरूले लामो दुरी लाश हिडाउनु पर्ने वाध्यता छ ।

‘पहिला घाटमा जाँदा हरेक मान्छेले काँधी काठ (लाश बोक्ने) गर्थे, अहिले बोक्न सक्नेहरू पछाडि हिड्दै हुन्छन्,’ क्षितिजले थपे, ‘फेरी हाम्रो धर्म, संस्कार, रितिरिवाज पनि तेस्तै छ । अर्को जातकोले बोक्न मिल्दैन । त्यस्तो बेला लाश बोकेर थकित भएकाहरू आँखैले देखेको छु ।’

आफ्नै वडाको अन्त्येष्टि स्थलसम्म मोटरबाटो सहज रूपले पुर्याउन बसौं लाग्ने र अर्काको वडामा लगानी गर्न नपाइने भएकाले समाधानको पाटो चुनौतीपूर्ण भएको उनको कथन छ । विरामी हुँदा उपचारमा लाने र मृत्यू हुँदा घाटसम्म पुर्याउन एउटै यातायातको साधन कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने चासो उनलाई छ । जलाउनेकालागि अन्त्येष्टिस्थलमा काठमाडाैंको पशुपतिमा जस्तो विद्युतीय शव दाहको व्यवस्था गर्ने योजना छ । त्यसले मलामी गएर दाउरा खोज्नुपर्ने झण्झटबाट मुत्ती दिलाउँछ ।

‘अझै त हाम्रोमा मृत्यू संस्कारमा भेला भएकाहरूले पैसा लेखाउने चलन छ । त्यसले धेरथोर भरथेग गर्छ । तर, त्यो प्रथा हटेका दिन विपन्नकालागि मृत्यू संस्कार निकै कठिन छ,’ सुनुवारले थपे, ‘मृत्यूपछिको चिन्ता स्वयं बिरामी र परिवारलाई पनि नहोस भन्नेमा हामी जनप्रतिनिधि गम्भीर हुनुपर्छ जस्तो लाग्छ ।’

यो राजनीतिक लाभकालागि नभएर समाजका लागि गर्नुपर्ने कर्तव्य भएको वडाध्यक्ष क्षितिजको तर्क छ । तमोर नदी देखि सुकेटार सम्म फैलिएको उनको वडाका वासिन्दाले आफ्नो वडाको पुछारदेखि सिरानसम्म पुग्न चार घण्टासम्म पैदल हिड्नुपर्छ । सुकेटार छेउदेखि खोलाकिनारमा अन्त्येष्टिकालागि लैजाने पनि तेत्तीकै छन् । कालो पत्रे बाटो भएकाले धेरैले काबेली लैजान्छन् । कालोपत्रे हुनै लागेको तमोरको दोभान पनि नजिक पर्छ । तर, वडाले यहाँ लगानी गर्दा बेरुजु हुने भएकाले बिकल्पको खोजिमा रहेको क्षितिजले सुनाए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066