

ताप्लेजुङ – पहिरो पीडितकोमा पुगेर फर्किएका मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम सम्भावित पहिरोको जोखिमबाट बचेका छन । मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघु बाट फर्किएका उनको सवारी पहिरोले पुरेको छ । आफू र चालक भने भागेर बाँचेका छन ।
वनेमका अनुसार वाड्नं १ निवासी एकल महिलाको घर पहिरोको जोखिममा परेको सूचना पाएपछि त्यसतर्फ गएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय समेत भेला भएर ति महिलालाई सुरक्षित स्थानमा सारिएको थियो । त्यसपछि मोटरसाइकलमा गाउँपालिका फर्किएका उनीहरु वाड्नं २ पञ्चमी भन्ने स्थानमा पहिरोमा परेका हुन् ।
‘हामी मोटर साइकलमा थियौ, ढुङ्गाको कारण अगाडि बड्ने ठाउँ नभएपछि म उत्रिएर ढुङ्गा पन्साउन थालेँ,’ वनेमले भने, ‘पन्साउदा पन्साउँदै माथिबाट पहिरो झर्यो । ड्राइभरलाई तानेर तल्लोपट्टि हाम फालेकाले बाँच्न सकियो र पुनर्जन्म पाइयो ।’
माथिबाट झरेको पहरोले मोटरसाइकलमा भने क्षति पुर्याएको छ । वनेमसग उनकै चालक दावा शेर्पा रहेको जनाइएको छ ।