

ताप्लेजुङ – गत ज्येष्ठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार बिमास्थलमा बुधवार (भोलि) देखि उडान सुरु हुने भएको छ । नेपाल वायु सेवा निगमले उडान तालिका राखेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगम यतिबेला बुधवारकालागि यात्रुको खोजीमा रहेको छ । यात्रु भए र मौसमले साथ दिए उडान निश्चित भएको पौडेलले बताए । निगमले काठमाण्डौं–ताप्लेजुङ–काठमाण्डौं उडान गर्दै आएको छ ।
ज्येष्ठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एक दिन तालिका राखेपनि उडानभनें गरेको छैन । यसअघि सोमवार, बुधबार र शनिवार गरी साताको तीन उडान गर्दै आएको थियो । मौसममा सुधार देखिएपछि र उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमको दावी छ ।
गतवर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो । लामो समय उडान नभएकाले काठमाण्डौं देखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाण्डौं जाने यात्रु नभएको ताप्लेजुङ स्टेसनका कुमार गुरुङ बताउँछन् ।