ताप्लेजुङ – आफ्नै पार्टीको उपाध्यक्ष भएको सिरिजङ्गा गाउँपालिकामा माओवादीले स्थानीय सरकारले गरेका कामको अध्ययन र मूल्याङ्कन गर्ने भएको छ । शुक्रवार बसेको पालिका कमिटी बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।
जिल्ला इन्चार्ज खेल प्रसाद बूढाक्षेत्रीको उपस्थितिमा बसेको बैठकले स्थानीय तहले गरेका राम्रा र नराम्रा कामको लिखत डकुमेन्ट तयार गर्ने छ । माओवादी नेतृत्वमा मैवाखोला र फक्ताङलुङ गाउपालिका सरकार रहेको छ । आफ्नो नेतृत्वमा रहेको पालिकामा भने अहिलेसम्म मूल्याङ्कन समिति बनाइएको छैन ।
ति पालिकामा पनि पालिका बैठक बस्ने र निर्णय गर्नसक्ने जिल्ला इन्चार्ज बूढाक्षेत्री बताउँछन् । उनका अनुसार यो निर्णय भने पालिकाले गर्ने हो । मूल्याङ्कन कर्मकाण्डी हुन्छ या साँच्चै अध्ययन सहितको हुन्छ त्योभने पर्खाइको विषय बनेको छ । बूढाक्षेत्रीले भने राम्रा कामको प्रशंसा गर्ने र कमजोरीका विषयमा सच्याउन सुझाव दिने बताउँछन् ।
काङ्ग्रेसबाट निर्वाचित लालकृष्ण चौहान अध्यक्ष रहेको सिरिजङ्गामा माओवादी वाट निर्वाचित चित्र माबो उपाध्यक्ष छन् ।