

ताप्लेजुङ – पाथीभरामा केबलकार खारेजीको माग गर्दै आएका संघ संस्थाले मुख्य सिजनमै बन्दको आव्हान गरेपछि व्यवसायी चिन्तित भएका छन् । केबलकार खारेजीको माग गर्दै आएका संघ संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित गरी भाद्र २४ देखि अनिश्चित कालसम्म ताप्लेजुङ सदरमुकाम फुङलिङ देखि पाथीभरा जाने काफ्लेपाटी सम्मको यातायात बन्दको घोषणा गरेका छन् ।
यसरी घोषणा गर्नेमा मुक्कुमलुङ संरक्षण सम्युक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था सहजीकरण समुह, प्रदेश १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुन नामाङ्कन अभियान समिति र मुक्कुमलुङ तासेप चुम्भो रहेका छन् । विज्ञप्तिमा केबलकार निर्माण कम्पनीलाई भाद्र २३ गतेसम्म पाथीभरा क्षेत्र छोड्न भनिएको छ ।
केबलकार कम्पनीले अल्टिमेटम अनुसार नछोडे अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी विज्ञप्ति मार्फत दिइएको छ । २०८१ ज्येष्ठ ५ गते जिल्ला प्रशासन कार्यालयमा आन्दोलनरत पक्ष र निर्माण व्यवसायी बिच सहमति नभई निर्माण कार्य नगर्ने नगराउने भनी गरेको सहमति उलङ्घन भएको दाबी गरिएको छ । दशैको समयमा पाथीभरामा अधिक तीर्थयात्री आउने गरेका छन् । दशैंतिहारको बिदालाई अधिकले पाथीभरा आएर उपयोग गर्ने गरेका छन् । यसले ब्यापार व्यवसाय र ताप्लेजुङको पर्यटन क्षेत्रमा नराम्ररी असर पर्ने भन्दै उद्योग वाणिज्य सङ्घले चिन्ता व्यक्त गरेको छ ।
वाणिज्य सङ्घका महासचिव कमल लिम्बू यसले ताप्लेजुङको पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुने भएकाले सम्बन्धित पक्षले गम्भीर भएर सोच्नुपर्ने बताउछन् । केबलकार कम्पनीका प्रतिनिधिले केही दिन अघि आएर केबलकार निर्माणका लागि आवश्यक लट्ठा लगायतको विषयमा अध्ययन गरेका थिए । त्यसको विरोधमा गएका आन्दोलनरत पक्षका आठ जनालाई प्रहरीले पक्राउ गरेर छोडेको थियो ।
पाथीभरामा केबलकार निर्माण गर्ने र अवरोध गर्नेबीच विवाद रहेको छ ।