ताप्लेजुङ – साताको हरेक शुक्रवार बन्द हुँदै आएको सदरमुकाम फुङलिङ बजार यो सातादेखि खुल्ने भएको छ । पाथीभराको सिजन र दशैं तिहार जस्ता चाडपर्वलाई लक्षित गरी असोज ४ गतेदेखि छठ पर्वसम्म खुला गर्ने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जनाएको छ ।
कात्तिक १६ गते शुक्रवार सम्म बजार, पसल खुला गर्ने निर्णय गरिएको वाणिज्य सङ्घका अध्यक्ष नारान थापाले जानकारी दिए । छठ पर्व सकिएपछि पूर्ववत् रुपमा फेरी साताको एक दिन शुक्रवार बन्द हुने छ । ‘दशैं, तिहार, नेपाल सम्वत्, छट, चासोक तङनाम लगायतका पर्वमा सामान खरिदका लागि सदरमुकाम फुङलिङ आउनु पर्ने र एक दिनको बन्दले पनि असर पर्ने भएकाले साप्ताहिक बन्द खुला गरिएको हो,’ थापाले भने ।
वाणिज्य सङ्घले ग्राहकले देख्नेगरी मूल्य सूची राख्न, म्याद गुज्रिएका सामानको बिक्रीबितरण नगर्न, कृतिम अभाव सृजना नगर्न, निषेधित बस्तुहरू बिक्री बितरण नगर्नपनि वाणिज्य सङ्घले सबै व्यापारीहरूलाई अपिल गरेको छ ।