

पाँचथर — मेची राजमार्ग अन्तर्गतको हेंवा खोलामा १४ दिन पछि सवारी र ढुवानीका साधन वारपार गर्न थालेका छन् ।
सडक डिभिजन इलामले १० दिन लगाएर डाइभर्सन बनाएसँगै बुधबार बिहानदेखि मेची राजमार्गको इलाम र फिदिमबाट हेंवा खोला पारीका पाँचथरस्थित फालेलुङ,हिलिहाङ र याङवरक सँगै ताप्लेजुङ जाने र त्यसतर्फबाट पाँचथर, इलाम हुँदै झापातर्फ जाने सवारी र ढुवानीका साधन गन्तव्यतर्फ जान थालेका हुन् ।
पैदल यात्री र मोटरसाइकलको सहजताका लागि भने नेपाली सेनाको अगुवाईमा असोज १८ गते बाँसको फड्के निर्माण गरेर आवत जावत गराउन थालिएको थियो ।
डाइभर्सनको काम तीनदिन अघि नै सक्ने गरी काम गरेपनि इष्टिमेटभन्दा थोरै मात्रामा हृयुम पाइप आएको र पुनः इटहरीबाट ल्याउन समय लागेकाले काममा ढिलाइ भएको सडक डिभिजन इलामले जनाएको छ ।
डाइभर्सन बन्नासाथ सय भन्दा धेरै साधन वारपार भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
यो समाचार पाचथरका पत्रकार लक्ष्मी गौतले कान्तिपुरमा लेख्नु भएकोे वाट साभार गरिएको हो ।