२१ पुष २०८१, सोमबार

लिङ्गे पिङ मच्चाउन सजिलो, बनाउन गारो (भिडियो सहित)

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, आश्विन २७, २०८१

ताप्लेजुङ – पिङ बनाउने उत्साह बढेपछि त्यसैको खोजीमा लागेका फुङलिङ नगरपालिका ५ उकालीपानीका देवराज गुरुङ तीन दिनमा बल्ल सफल भए । छ लिङ्गे पिङ लगाउनका लागि आठ घना बाँस ल्याउने र लट्ठा किनेर झुन्ड्याउने सोचेका उनको अनुभवमा त्यति सहज चाहिँ भएन ।

सोमवार दोखु किरात चोकका दीपक गुरुङको बाट ट्याक्टरमा लगाएर १२ घना माल बाँस लगेका उनीहरूले बुधवार छ वटा लिङ्गा ठड्याए । लिङ्गा जोड्ने सीप भएका फुङलिङ नगरपालिका २ का गणेश भट्टराई र ८ का टामन अधिकारीलाई बोलाएर एकापसमा जोड्न लगाए । यही क्रममा दुईवटा लिङ्गा पड्किए । त्यही बाँस लिन ट्याक्टर लिएर फेरी त्यही पुग्नु पर्ने र खर्चिलो हुने भएकाले भालुबाँस लिङ्गा गाड्ने योजना बनाए । जुन पिङ थाप्ने ठाउँको आसपासमै थियो । दोश्रो पटकको प्रयास भनेँ सफल भयो ।

बुढापाकाले भन्ने गरेको दशैंमा पिङ खेलेर भुइँ छोड्नु पर्छ भन्ने उक्तीलाई सफल बनाउन देवराज नेतृत्वको टिम सफल भए । तर झट्ट हेर्दा एउटा पिङमा लिङ्गो र लठारो मात्रै देखिएपनि ससाना कुराहरू धेरै रहेको र त्यसलाई जुटाउन समय र खर्च लाग्ने अनुभव गुरुङले गरेका छन् । बसौँ देखि पिङ थाप्तै आएका फुङलिङ नगरपालिका ८ का मदन पौडेल ‘श्राद्ध गर्न सजिलो सिदा पुर्याउन गारो’ भनेजस्तै रहेको बताउँछन् । उनका अनुसार एउटा पिङको लठारो बाट्न कम्तिमा दुई दिन लाग्छ । खर सँगै पाइने बाबियो छुट्याएर काट्नु पर्छ । हात काट्ने जोखिम धेरै हुन्छ ।

भीर वा बारीमा काट्नुपर्ने, सुकाएर राख्ने र बाट्ने बेलामा पानीमा भिजाएर बार्नुपर्ने फुङलिङ नगरपालिका ८ का अग्नि प्रसाद भण्डारी बताउँछन् । भण्डारीका अनुसार एउटा लठारो ३१ देखि ४२ फुट सम्मको बनाउनु पर्छ । बासक उचाइको आधारमा पनि हुने भण्डारी बताउँछन् । अग्निप्रसादले बाटेको लट्ठा देवराजले ६ हजारमा किनेका थिए । लट्ठाको समन्वय गरेका मनिष अधिकारीका अनुसार लट्ठा बाट्नु भन्दा गारो बाबियो काट्न हुन्छ । बाट्ने क्रममा बटार्दा हातमा घाउ हुने जोखिम धेरै हुने मनिष बताउँछन ।

पिङ थाप्ने क्रममा बास बोक्ने, खाल्टा खन्नेकाम मात्रै जो सुकैले गर्न सक्ने पिङ थाप्नेहरु बताउँछन् । प्राविधिक कुरा मिलाउन भने निकै कठिन हुन्छ । बाँस पड्कने, जोड्दा कोल्टो हुने जस्ता समस्याले हैरानी दिने टामनको अनुभव छ ।सामान्यतया पहाडि क्षेत्रमा चार देखि आठ लिङ्गे सम्मको पिङ लगाउने गरिएको छ । बाधी सक्ने बेलामा एउटा मात्रै बास फुटे वा समस्या आए फेरी सुरुकै प्रकृयामा फर्कनु पर्छ । तरपनि दशैंको माहोल बड्दैजादा गाउका बुढापाकादेखि युवापुस्ता सकृय हुने र बाँस लगायतका बस्तु सौजन्य गर्ने भएकाले सहज हुने स्थानीय युवाको बुझाई छ ।

यसरी तयार पारिने पिङमा बुढा पुस्ताकाले कन्याहरुलाई टिका लगाइदिएर शुभ रहोस भन्दै पिङको प्रारंभ गर्ने गरेका छन् । यसले पिङ रुचाउने वालवालिका, पिङ लगाउन उत्साहि हुने युवा पुस्ता र शुभकामना र आशिर्वाद दिने पुरानो पुस्ताको सहभागीता देखिने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066