ताप्लेजुङ – ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा शनिवार एकैदिन ५ हजार ९ सय ८३ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या असोज महिना भरिको भन्दा बढी हो ।
असोज महिनाभरिमा ५ हजार ९ सय ४९ जना मात्रै तीर्थयात्री पाथीभरा पुगेका थिए । असोज महिनाको तुलनामा शनिवार ३४ जना बढी तीर्थयात्री आएको समितिले जनाएको छ ।
असोज १० गतेदेखिको वर्षा र बाढीका कारण यसवर्ष पाथीभरा आउने तीर्थयात्री पनि प्रभावित भएका थिए । पाँचथर हेवाखोलाको पुल बगाएपछि र मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध भएपछि नवरात्रको समयमा पनि पाथीभरा सुनसान बनेको थियो ।
पाथीभरामा यो सिजन र चैते दशैंको सिजनमा अत्यधिक तीर्थयात्री आउने गरेका छन् । शनिवार बिहान २ बजेदेखि सुरुभएको दर्शनार्थीको चाप दिउसो २ बजेपछि मात्रै कम भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।