२३ पुष २०८१, बुधबार

सिंवा स्वास्थ्यचौकीले पायो झोलामा बोक्न मिल्ने एक्सरे मेसिन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, कार्तिक १०, २०८१

ताप्लेजुङ – जिल्लाको फक्ताङलुङ गाउँपालिका वाड्नंलिङ्खिम र आसपासको वडाका सेवाग्राहीले एक्सरे र इसिजिकालागि सदरमुकाम फुङलिङ धाउनु नपर्ने भएको छ । स्वास्थ्यकर्मीले जाँगर चलाए गर्भवती महिला र चोटपटक लागेर घाइते भएकाहरूले घरमै पनि एक्सरे सुविधा पाउन सक्ने भएका छन् ।

नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चले आइतबार सिंवा स्वास्थ्य चौकीलाई ८ लाख मूल्य बराबरको तीनवटा स्वास्थ्य उपकरण प्रदान गरेको छ । ल्यापटप जत्रै रहेको युएसजी, इसिजि र एक्सरे प्रिन्टर प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्ति मार्फत स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईंले जानकारी दिए । उनका अनुसार ७ लाख ७५ हजारमा उपकरण खरिद गरिएको हो । ढुवानीमा २५ हजार खर्च भएको छ ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार फक्ताङलुङ गाउँपालिकामा लडेर घाइते हुनेको सङ्ख्या अधिक रहेको पाइएको र बोकेर स्वास्थ्यचौकी तथा जिल्ला अस्पताल पुर्याउन चारदिन सम्म लागेकाले यही क्षेत्रलाई रोजेर सामग्री प्रदान गरिएको अध्यक्ष प्रसाईं बताउँछन्यसका लागि सांसद भट्टराईले दातृनिकायसँग समन्वयमा सहयोग गरेको उनले बताए । तीनवटै मेसिन बोकेर हिड्‌न सकिने भएपनि एक्सरे मेसिनको उपयोगिता घरसम्मै पुगोस् भन्ने चाहना रहेको सांसद भट्टराईले स्वास्थ्यकर्मीसँगै अपेक्षा राखे ।

‘तपाईँहरूले गर्भवती महिलालाई घरमै गएर एक्सरे गरिदिनु भयो र लडेर वा अन्य कारणले बोकेर अस्पताल पुर्‍याउनु पर्नेलाई पनि घरमै सेवा दिनसक्नु भयोभने अन्यत्रपनि बिस्तार गर्न सकिन्छ,’ भट्टराईले स्वास्थ्यकर्मीसँगै भने, ‘ताप्लेजुङमा पहिलो अभ्यास भएकाले यसको प्रभावकारिता देखाइदिनु होस ।’ गाउँपालिका अध्यक्ष राजनले सेवाग्राहीसँग पुर्याउने वातावरण बनाउने बताए । 

वाड्नं ३ का वडाध्यक्ष आइतराम लिम्बू र स्वास्थ्य चौकी सिंवाका प्रमुख प्रेमकुमारी लिम्बूले परिणाम निष्कनेगरी काम गर्ने प्रतिवद्धता जनाए । नेपाल मेडिकल सर्पोट जर्मनीले यसअघि जिल्ला अस्पतालको भवन मर्मत, आँखा अस्पतालको भवन निर्माण लगायतका क्षेत्रमा करोडौँ रुपैयाँ लगानी गरेको छ । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066