ताप्लेजुङ – सशस्त्र द्वन्द्वमा बन्द भएको फुङफुङे युवक मेला बिउतिने भएको छ । मिक्वाखोला गाउपालिका सहितका सङ्घसंस्था र ब्यक्तिहरूको सहयोगमा मेला बिउताउन स्थानीय युवक लागेका छन् । मंसिर ७ देखि १० गतेसम्म लगाइने मेलामा पुरुष तथा महिला फुटबल, साँगीतिक, सांस्कृतिक कार्यक्रमको तयारी गरिएको छ ।
पुरानो मेलाको झल्को दिनेगरिको कार्यक्रम आयोजकले तय गर्ने भएका छन् । मिक्वाखोला ४ सावाको तेम्वा टोलमा लगाइने मेलामा वडास्तरीय खुला महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक फुङफुङे झरना पर्यटन विकास समितिका अध्यक्ष विजय सावाले जानकारी दिए ।
सावाका अनुसार यो अवधिमा मुख्यगरी झरनाको अवलोकन गराइने छ । फुटबल तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार र द्वितीय ६१ हजार नगद सहित कप, मेडल राखिएको छ । सेभेन साइजको मैदान भएकाले एउटा टिमबाट ७ जनाले खेल्न पाउछन् । महिला तर्फ प्रथम ५१ र द्वितीय ३१ हजार रहेको आयोजकले बताए ।
प्रतियोगिता सहितको मेला सम्पन्न गर्न २५ देखि २८ लाख खर्चहुने अनुमान गरिएको कोषाध्यक्ष सुकबहादुर सावा बताउछन् । मेलाकालागि गाउपालिकाले ४ लाख रुपैया बिनियोजन गरेको गाउपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउछन् । फुङफुङे झरनाको प्रबर्द्धन गर्ने उद्देश्यले यहा २०४५ सालदेखि मेला लाग्दै आएको थियो । सशस्त्र द्वन्द्वको चरम अवस्था २०५८ सालदेखि आयोजकनै नभएर मेला बन्द भएको विजयले बताए । मेलाको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन ।