ताप्लेजुङ – सदरमुकाम फुङलिङ र पाँचथरको याङवरक गाउँपालिका थर्पु बजारमा आँखा शिविर सञ्चालन हुने भएको छ । मोती बिन्दु लगायतको शल्यक्रिया (अप्रेशन) सहितको शिविर सञ्चालन हुने भएको हो ।
नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको समन्वय तथा मेची आँखा अस्पताल झापा बिर्तामोडको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने नेत्रज्योति सङ्घ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिए । फुङलिङमा कात्तिक २६ देखि २८ गते सम्म तीन दिन र थर्पुमा कात्तिक ३० देखि मंसिर १ गतेसम्म दुईदिने शिविर चल्ने गुरुङले बताए । दुवै स्थानमा शल्यक्रिया हुनेछ ।
दुवै स्थानमा आँखा उपचार केन्द्रको प्रांगडमा शिविर हुने क्लिनिक इन्चार्ज काजी गुरुङ बताउँछन । अप्रेशनका लागि विद्युत लगायतको व्यवस्थापन गर्नुपर्ने भएकाले कार्यालयमा हुने उनले जानकारी दिए । शिविरमा दर्ता शुल्क वापत ६० रुपैयाँ र चस्मा लगाउनु पर्नेको हकमा चस्माको शुल्क लाग्ने आयोजकले बताएका छन् । ४० बर्स नाघेकाको हकमा पढ्ने चश्माको भने शुल्क नलाग्ने क्लिनिक इन्चार्ज गुरुङ बताउँछन् ।