काठमाडौँ — इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ वटा टावरमा क्षति पुर्याएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरुले संयुक्त रुपमा पुनर्निर्माण तथा पुन:स्थापना गरी सोमबार दिउँसो ४.३०बाट प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रकातर्फबाट पुनर्निर्माणमा खटिनु भएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजननाहरुबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो ।
प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरुलगायतका सामाग्रीहरु उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरुले श्रम लागतलगायतका खर्च बेहोरहेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारण लाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिधिहरुबाट पूर्ण रुपमा सहयोग प्राप्त भएको थियो ।
इकान्तिपुर अनलाइनवाट साभार गरिएको