
ताप्लेजुङ – मंसिर २६ गते हुने वडाध्यक्षका लागि सिरिजङ्गा गाउपालिका ३ सिकैचामा उम्मेद्वारै उम्मेद्वार देखिएका छन् । एमालेमा चार जनाले आकाङ्क्षा राखेका छन् भने काङ्ग्रेसमा पाँचजना आकाङ्क्षी देखिएका छन् । शनिवार काँग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्र प्रसाद तुम्याहाङ लगायतको उपस्थितिमा भएको छलफलमा सभापति गोपाल चिमरिया, उपसभापति योगेन्द्र काङवा सहित भीम लक्सम्बा, राजबहादुर योङया र टेकनाथ पौडेलले नाम लेखाएको वडा सभापति चिमरियाले बताए ।
एमालेमा कुमारी सावदेन, छत्रबहादुर काङवा, शत्तिलाल पौडेल र आशिष काङवाले नाम लेखाएको वडा कमिटी अध्यक्ष मणि काङवा बताउँछन् । मणिका अनुसार एमालेले २७ वा २८ गतेसम्म उम्मेद्वार छान्ने तयारी गरेको छ । तर यहा अर्को पार्टीले कसलाई उम्मेद्वारी बनाउँछ भनेर दाउ हेराहेर गरेको दलका स्थानीय नेतानै बताउँछन् । वडाका एक नेताले भने, तपाईहरुको मेलो कहा पुग्यो भनेर सोद्धयो आफ्नो चाही भन्दैनन्, तपाईहरुको के हुदैछ भनेर सोद्धछन् । यस्तै भए मंसिर २ गते मनोनयन दर्ता गर्ने दिनमात्रै उम्मेद्धार नछान्लान भन्न सकिदैन ।
माओवादीले पनि उम्मेद्धारहरुको सूची बनाएको जनाएको छ । कार्यवाहक वडाध्यक्ष अम्बि सावदेनलाई उठाउने रणनीति माओवादीको छ । तर, गत निर्वाचनमा काँग्रेस, माओवादी र लिम्बुवान मिल्दापनि चार मतले मात्रै काङ्ग्रेसका उम्मेद्वारले जितेकाले यी तिनैदल जोखिमको सुचीमा छन् । गत निर्वाचनको गठबन्धन ८४ सम्मकालागि भएकाले यो निर्वाचनमा पनि आफुहरुलाई सघाउन काङ्ग्रेसले माओवादीसँग प्रस्ताव गर्ने तयारी गरेको एक नेताले बताए ।
माओवादीले पनि काङ्ग्रेससँग गठबन्धनको प्रस्ताव गर्ने तयारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक बिरेन्द्र श्रेष्ठ जस्तो सुकै भएपनि उम्मेद्वार उठाउने बताउँछन् । माओवादी काग्रेस र एमालेले उम्मेद्धारको लेखाजोखा मात्रै गरिरहेका छन् ।