०९ बैशाख २०८२, मंगलबार

सरस्वती मावि र रानी आधारभुत विद्यालयलाई शैक्षिक अवार्ड

Logo
Taplejung Press बिहिबार, आषाढ २०, २०८१

आनन्द गौतम
ताप्लेजुङ — ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको कार्य क्षेत्रमा सञ्चालित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभुत विद्यालय खानी यो वर्षका उत्कृष्ट घोषित भएका छन् । यी दुवै फक्ताङलुङ गाउँपालिकाका विद्यालय हुन् । उनीहरुले ४५ हजारका दरले पुरस्कार पनि प्राप्त गरेका छन् ।
ताप्लेजुङमा रहेको बिश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) का पहिलो आरोही बेलायती नागरिक जर्ज बेण्डद्वारा स्थापना गरिएको हिमालयन ट्रष्ट युकेले रिड नेपाल मार्फत कञ्चनजंघा आधार क्षेत्रमा रहेका फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका ३२ विद्यालयलाई शैक्षिक सहयोग गर्दै आएको छ ।
२०८० सालको शैक्षिक गतिविधि, विद्यालयको नियमितता, लगनशिलता लगायतका क्षेत्रलाई आधार मानेर पुरस्कृत गरेको हो । रिडले यो पुरस्कार ८ वर्षदेखि प्रदान गर्दै आएको छ । विद्यालयको अलावा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र बिद्यार्थीहरु समेत पुरस्कृत हुने गरेका छन् । फक्ताङलुङ गाउँपालिका-४ इखाबुको रानी आधारभूत विद्यालय आठ वर्षदेखि उत्कृष्ट हुँदै आएको थियो ।
यो पटक भने सरस्वती माध्यमिक विद्यालयले पनि समान अंक प्राप्त गरेपछि दुबै विद्यालयलाई ‘बेष्ट पर्फमिङ विद्यालय’ को रुपमा पुरस्कृत गरिएको रिड नेपालका प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिए ।
सिरिजङ्गा गाउँपालिका-८ याम्फुदिनको कञ्चनजंघा माध्यमिक विद्यालय र फक्ताङलुङ गाउँपालिका-४ इखाबुको सुनदेवी माध्यमिक विद्यालय नगद ३० हजार रुपैयाँ सहित ‘स्टार स्कुल अवार्ड’ र ‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसईई २०८०’ बाट पुरस्कृत भएका छन् ।
विद्यालय व्यवस्थापन समितितर्फ सिरिजङ्गा-६ खेवाङको गणेश माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नेत्रकुमार आचार्य र फक्ताङलुङ-५ को बिपुधाम आधारभूत विद्यालयका अध्यक्ष इन्द्रप्रकाश लिम्बू जनही ५ हजार रुपैयाँ सहित ‘एसएमसी अवार्ड २०८०’ बाट पुरस्कृत भएका छन् ।
स्रोत शिक्षकतर्फ गणेश माविकै प्रधानाध्यापक रामकुमार लिम्बू, खेवाङकै पाथीभरा महादेव आधारभूत विद्यालयका बिन्दुकला लिम्बू र फक्ताङलुङ ४ तापेथोकको पार्वती माध्यमिक विद्यालयका कमलकुमार हेल्लोक नगद ५ हजार सहित पुरस्कृत भए । उनिहरुले ‘आरएलटी अवार्ड पाएको पन्त बताउँछन । चार जनाले प्राप्त गर्ने ‘स्टार टिचर अवार्ड २०८०’ बाट सिरिजङ्गाको कञ्चनजंघा माबिका लक्ष्मीप्रसाद लिम्बू, फक्ताङलुङको बिपुधाम आधारभूत विद्यालयका बिरेशमान वनेम, इखाबुको सुनदेवी माविका सन्तोष राई पुरस्कृत भए ।
बाल विकास शिक्षकतर्फ खेवाङको महेन्द्र आधारभूत विद्यालयका रमादेवी बिश्वकर्मा पुरस्कृत भइन् । विद्यालय कर्मचारीतर्फ सरस्वती माविका कार्यालय सहयोगी रनबहादुर लिम्बूलाई पुरस्कृत गरियो । उनीहरुले पनि ५ हजारका दरले नगद पाए । हरेक विद्यालयका एक जनाका दरले ३२ जना बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ ।
यो संस्थाले १६ वर्ष देखि यी पालिकामा शैक्षिक कार्यक्रम गर्दै आएको छ । फक्ताङलुङ गाउँपालिका-४ इखावु, ५ तापेथोक, ६ लेलेप र वडा नं ७ ओलाङचुङगोलामा कार्यक्रम सञ्चालित छ । सिरिजङ्गा गाउँपालिका-६ मामाङखे, ७ खेवाङ र ८ याम्फुदिन कार्यक्षेत्र रहेको छ ।
पुरस्कार बितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई संस्थाका संस्थापक अध्यक्ष भीम बोगटी लगायतको सहभागीता रहेको थियो ।
ईकान्तिपुर वाट साभार

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066