१६ पुष २०८१, बुधबार

जीटुजीमार्फत भए फुङलिङदेखि टिप्तालासम्मको सडक कालोपत्र गरिदिन चीन तयार

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, पुष ०१, २०८१

ताप्लेजुङ — दुई सरकारबीच(जीटुजी) सहमति भए चीनले ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि टिप्ताला भञ्ज्याङसम्मको सडक कालोपत्र गरिदिने प्रस्ताव राखेको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र चीनको दिङ्जे काउन्टी पार्टी कमिटीका सचिव ताओ मिङजुन नेतृत्वको टोलीबीच भएको छलफलमा ताओले यस्तो प्रस्ताव गरेका हुन् ।

जीटुजीमार्फत आए आफूहरूले तत्काल काम थाल्नेगरी सडक कालोपत्र गरिदिने प्रस्ताव चीनले पटक/पटक गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । शर्माको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन, कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्वोलगायतको टोली सीमा बैठकका लागि दिङ्जे काउन्टी गएका थिए ।

कोरोना संक्रमणअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला र त्यसअघि देवराज ढकाल सीमा बैठकका लागि दिङ्जे गएका थिए । डोरेन्द्रको पालामा दिङ्जे काउन्टीका प्रमुखले ओलाङचुङगोलासम्मको सडक कालोपत्र गरिदिने बताएका थिए । त्यसका लागि एक अर्ब रुपैयाँ छुट्याउने वचन पनि उनले दिएका थिए । त्यतिबेला चीनले जीटुजीको प्रस्ताव गरेको थिएन । अहिले संघीय सरकारबाट भए काम गर्ने प्रस्ताव चीनले गरेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

द्विपक्षीय बैठकमा सीमा सुरक्षा र पिलरको संयुक्त गस्ती गर्ने, वन र वन्यजन्तुको अवैध ओसारपसार नियन्त्रण गर्ने, सीमा आउजाउ गर्नेले बोकेको सामानमा कडाइ गर्ने र तर पासवाहकको आउजाउमा सहजता अपनाउनेलगायतका विषयमा छलफल भएको शर्माले बताए । सीमानजिकका बस्तीमा दैवी विपत्ति परे एक अर्कालाई सहयोग आदानप्रदान गर्ने, सूचना आदानप्रदान गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा समन्वय गर्ने जस्ता विषयमा छलफल भएको शर्माले बताए ।

चीनले नेपाली पशुचौपाय निर्यातमा भने सहमति जनाएन । सीमावर्ती क्षेत्रका बासिन्दाले चौंरी याक निर्यातको माग गर्दै आएका थिए । आफ्नो देशको कानुनविपरीत हुने भएकाले पशुचौपायको विषयमा भने माथिल्लो निकायमा जानकारी गराउने प्रतिबद्धता चिनियाँ प्रतिनिधिले जनाएको शर्मा बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066