

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी डोङ्गा वालुङ शेर्पा अचेल धेरैजसो ‘थुम्बी’ मै औंला खेलाउँछिन् । यहाँका स्थानीय बासिन्दा गलैंचा बुन्ने तानलाई ‘थुम्बी’ भन्छन् । डोङ्गा मात्र होइनन्, यहाँका अधिकांश महिलाको दैनिकी गलैंचा बुन्नमै व्यस्त हुन थालेको छ ।
कोरोना संक्रमणका कारण छिमेकी मुलुक चीनतर्फ गलैंचा निर्यात रोकिँदा केही वर्षसम्म यहाँका महिलाले ‘थुम्बी’ मा हात चलाउनै पाएका थिएनन् । चीनको तिब्बत जाने टिप्ताला भन्ज्याङ नाका सञ्चालनमा आएर पुरानै अवस्थामा गलैंचाको माग बढेपछि उनीहरूको ‘थुम्बी’ चलाउने लय फर्किएको हो ।
स्थानीय चुङदाक शेर्पा वालुङ पनि खाजा–खानाबाहेकको समय गलैंचा बुन्नमै दिइरहेकी छन् । ‘बिहान एकछिन आमालाई घरको काम सघाउँछु, अरू बेला थुम्बीमै व्यस्त हुन्छु,’ उनले भनिन्, ‘गोलाका बासिन्दा एकाध घण्टा घाम ताप्न निस्कनेबाहेक प्रायः थुम्बीमै व्यस्त छन् ।’
ओलाङचुङगोलाका महिला र पुरुषका आ–आफ्नै काम छन् । पुरुष चौंरी, याक पालन लाग्छन् । उनीहरूलाई महिलाले पनि कहिलेकाहीँ सहयोग गर्छन् । महिला भने गलैंचा बुन्छन् । गलैंचाको तान बनाउन, धागो काट्न र बिक्रीमा लैजान पुरुषले सघाउँछन् । कोरोना संक्रमणको समयमा यहाँ दुवैका पेसा धरापमा परेका थिए । बिक्री नभएपछि महिलाले बुन्ने काम नै कम गरे ।
केहीले नेपाली बजारमा बेच्ने प्रयास गरे पनि व्यापार खासै फस्टाएन । छाड्न नमिल्ने भएकाले पुरुषले भने पशुपालन बढाउँदै लगे । महिलाले तुलनात्मक रूपमा पुरुषलाई सहयोग गर्ने समय बढाए । अहिले महिलाको व्यवसाय खुले पनि पुरुषको खुलेको छैन । उनीहरूले तिब्बतमा चौपाया बिक्री गर्न पाएका छैनन् । तर गलैंचा कारोबार खुलेकाले तानमा बस्ने क्रम बढेको डोङ्गा बताउँछिन् । चीनले कोरोनापछि चौपाया भने निर्यात हुन दिएको छैन ।
चीनको घुम्तीमा र रिउ बजारमा गलैंचाको राम्रो व्यापार हुने फक्ताङ्लुङ–७ का वडा सदस्यसमेत रहेका टाँसी शेर्पा बताउँछन् । उनका अनुसार नेपालबाट लगिएका मध्ये छिटो र राम्ररी बिक्री हुने बस्तु गलैंचा हो । एकजोडी गलैंचा युआन दुई हजारमा सहजै बिक्री हुने उनले बताए ।
एउटा १ हजारदेखि १२ सय युआनमा बिक्री हुन्छ । अहिले एक युआनको दर १८ रुपैयाँभन्दा बढी छ । तर हिसाब भने १८ रुपैयाँले गरिन्छ । नेपाली १८ हजार रुपैयाँ बराबरको मूल्य एउटा गलैंचा बेच्दा पाइन्छ । चिनियाँहरू एउटा मात्र नभई प्रायः जोडी गलैंचा खोज्छन् । नेपाली महिलाले पनि जोडी हुने गरी फरक रंगको गलैंचा बुन्छन् । स्थानीय भाषामा उनीहरूले भाले र पोथी गलैंचा भन्ने गरेका छन् ।
चिनियाँका लागि सस्तो पर्ने, लामो समय टिक्ने र घर सजाउन आकर्षक हुने भएकाले यहाँको गलैंचा उनीहरूको रोजाइमा पर्ने गरेको टाँसीको भनाइ छ । रिउ र घुम्तीमा बेचिएका नेपाली गलैंचा सिगात्सेलगायतका सहरसम्म पुग्ने गरेको छ । ‘तर नेपालीलाई भने लैजान दिँदैनन्, तिब्बती व्यापारीले नै उताका विभिन्न सहरमा लगेर बिक्री गर्छन्,’ उनले भने ।
८/९ वर्षअघिसम्म गोलाबाट तिब्बतको रिउ बजार पुग्न ३ दिन लाग्थ्यो । तिब्बततर्फबाट ओलाङ्चुङगोलासम्म सडक खुलेपछि ४/५ घण्टामै रिउ बजार पुगिन्छ । चीन पुग्न नजिक भए पनि यहाँका बासिन्दालाई जिल्ला सदरमुकाम आउन भने एक दिन पैदल र एक दिन गाडीको यात्रा गर्नुपर्छ ।
तिब्बतसँग सडक नजोडिँदासम्म चीन निर्यात सरु नभएकाले यहाँका गलैंचा ताप्लेजुङ सदरमुकाम फुङलिङ ल्याएर व्यापारीले काठमाडौंको बौद्धलगायतका स्थानसम्म पुर्याउँथे । नेपाली बजारमा बेच्दा उधारोमा दिनुपर्ने भएकाले पैसा पाउन वर्ष दिनसम्म पनि कुर्नुपर्थ्यो ।
‘नेपालमा बिक्री गर्नुपर्दा अहिले पनि तेस्तै हो,’ गोलाका तेन्जिङले भने, ‘चीनमा नगदमै बिक्री हुन्छ । नगदमा नभए सामान ल्याएर हिसाब तत्कालै मिल्छ ।’ पहिला गोलाबाट चौंरीमा बोकाएर द्विदेशीय सिमाना टिप्तालासम्म पुर्याइथ्यो । अचेल बाटो पुगेकाले स्थानीयले गोलाबाटै गाडीमा पनि लैजान सकिने सुविधा पाएका छन् ।
ओलाङ्चुङगोलामा अरू खेतीपाती छैन । घरछेउको बारीमा सामान्य आलु, सागलगायतका बाली मात्र लगाइन्छ । विद्यालयनजिकै भएकाले बालबालिका पुर्याउन जानुपर्दैन । खाना–खाजाबाहेकको समय यहाँका महिला थुम्बीमै बिताउँछन् । थुम्बीमा बस्नुअघि थर्मसमा चिया भरेर छेउमै राख्छन् । त्यही चिया पिउँदै थुम्बीमा औंला चलाइरहन्छन् । पाहुना आए पनि थुम्बीमै चिया पिउँदै गफ गर्दै तान बुनिइरहन्छन् ।
‘ठूलो साइजको एउटा गलैंचा सिध्याउन ७/८ दिन लाग्छ,’ डोङ्गाले भनिन्, ‘अहिलेको मूल्यअनुसार बिक्री गर्दा एक दिनको १ हजार जति आफ्नो श्रम बस्छ होला ।’ पुर्ख्यौली पेसा भएकाले सबैजसो महिलाले गलैंचा बुन्ने सीप अभिभावकबाट सिकेका हुन् । धागो, रंगलगायतका कच्चा पदार्थ काठमाडौंबाट ल्याउँछन् । ‘पहिला चीनबाट धागो ल्याउँथ्यौं, अहिले काठमाडौंमा सस्तो पर्छ,’ चुङदाकले भनिन् ।
यहाँ बुनेका गलैंचा कुनै सादा हुन्छन् भने धेरैमा ओलाङ्चुङगोला लेखिएको हुन्छ । ‘अर्डर’ गर्नेले आफ्नो पहिचान झल्काउने कुरा लेख्न लगाए अतिरिक्त रकम लाग्दैन । ताप्लेजुङ कोसेली घरकी सञ्चालक विष्णु श्रेष्ठका अनुसार ताप्लेजुङ आउने बाहिरका कर्मचारीले कोसेली वा उपहारका लागि गलैंचा रोज्ने गरेका छन् ।
१५/१६ वर्ष अघि ३ हजारमा बिक्री गरेको गलैंचा अहिले १५/१६ हजारमा पाउन पनि मुस्किल भएको उनी बताउँछिन् । सडक खुलेर नाका सञ्चालनमा आएयता चिनियाँ बजारमा जान सहज भएपछि जिल्ला सदरमुकाममा गलैंचा पाउन मुस्किल भएको व्यापारी मुक्ति पौडेल बताउँछन् ।