

ताप्लेजुङ – नेपाल विद्यार्थी सङ्घका सभापति तिल कुमार जोगीको नेतृत्वमा पाथीभरा बहुमुखी क्याम्पसले सर्वसम्मत स्वतन्त्र विद्यार्थी युनियन चयन गरेको छ । तीन पदाधिकारी सहितको ८ सदस्यका लागि मङ्गलवार एकएक जनाको मात्रै मनोनयन दर्ता भएको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।
युनियनको सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बूको मनोनयन दर्ता भएको हो । पाँच सदस्यका लागि नेबिसंघका सौगात विष्ट, अखिल क्रान्तिकारीका शान्तिला गुरुङ र सुजन लिम्बू तथा अनेरास्ववियुका सनुजा गौतम र बिनु तामाङको मनोनयन पत्र दर्ता भएको निर्वाचन समिति संयोजक युवराज बस्नेतले जानकारी दिए ।
अव सात जना सदस्य समानुपातिबाट चयन हुनेछन् । समानुपातिकका लागि विद्यार्थी सङ्गठनले बन्द सूची बुझाएको र निर्वाचन तालिका अनुसार सात दिन भित्रमा खोलिने बस्नेतले बताए । ‘दावी विरोध लगायतका निर्वाचनका बाँकी कार्यक्रम छन, त्यही तालिका अनुसारको प्रकृयागत अगाडि बड्छ,’ बस्नेतले भने, ‘अब चैत ५ गते निर्वाचन गर्नु परेन ।’
नेविसङ्घका केन्द्रीय सदस्य विश्व नाल्बोका अनुसार सभापति, सहायक सचिव र तीन जना सदस्य सहित पाँच सदस्य काँग्रेस निकट नेविसङ्घ, उपसभापति, कोषाध्यक्ष र दुई सदस्य सहित चारजना माओवादी निकट अखिल क्रान्तिकारी, सचिव र चार जना सदस्य सहित पाँच जना एमाले निकट अनेरास्ववियु र एक सदस्य नेकपा एस निकट अनेरास्ववियु एसलाई भाग लगाइएको छ । बाँकी सदस्य समानुपातिकवाट आउने छन् । युनियनमा १५ सदस्य रहने प्रावधान छ ।