०७ बैशाख २०८२, आइतबार

नो केबलकार समुहका थप पाँचजना पनि धरौटमा छुटे

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, चैत्र १४, २०८१

ताप्लेजुङ – नो केबलकार समुहबाट गठित उच्च स्तरीय वार्ता टोलीका संयोजक खगेन्द्र फेम्बो, श्रीप्रसाद लिम्बुसहित पाँचजना धरौटीमा छुटेका छन् । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश विकास श्रेष्ठको इजलासले धरौटी तारेखमा छोड्ने आदेश दिएको हो ।

फरार प्रतिवादी सूचीमा रहेका उनीहरू शुक्रबार अदालतमा हाजिर भएका थिए । निवेदनसहित उपस्थित भएका उनीहरूको बयान, थुनछेक बहसपछि आदेश आएको हो । धरौटीमा छुटेकामा फेम्बो, लिङ्खिम, पूर्ण बहादुर पालुङवा, रोशन कङ्लिवा (सरोज), मुक्साम लिम्बू रहेको अदालतका स्रेस्तेदार मनोज बरालले जानकारी दिए । उनीहरु विरुद्ध आपराधिक उपद्रव तथा हुलदङ्गा शीर्षकको मुद्दा दर्ता भएको थियो ।

काफ्लेपाटीमा निर्माणाधीन केबलकार बटम स्टेसन र बिरेन्द्रचोकमा भएको राँके जुलुस घटनाको नेतृत्व गरेको बयान यसअघि पक्राउ परेका १८ जनाले दिएका थिए । उनीहरूको बयानको आधारमा पक्राउ परेका बाहेक नौ जनालाई प्रतिवादी बनाइएको थियो । चार जना अझै फरार प्रतिवादीको सूचीमा छन् । उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी रहेको अदालतले जनाएको छ ।

यसअघि धरौटी तारिखमा छुटेका १८ सहित शुक्रबार छुटेका ५ जनालाई चैत २१ गते अदालतमा उपस्थित हुन तारिख दिएको अदालतले जनाएको छ । स्रेस्तेदार बरालका अनुसार मुद्दा शीर्षक एउटै भएपनि भूमिकाका आधारमा धरौटी र सजाय निर्धारण फरक हुन सक्छ । अदालतले धरौटी रकमभने सबैर्ला समान तोकेको छ । मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।

गत फागुन ८ गते काफ्‌लेपाटी नजिक केबलकार बटम स्टेसनमा झडप भएको थियो । फागुन १० गते बेलुकी विरेन्द्रचोकमा राँके जुलुस निकालिएको थियो । राँके जुलुसका क्रममापनि सुरक्षाकर्मी र नो केबलकार समुहबीच झडप भएको थियो । दुवैतर्फका घाइते भएका थिए । सोही घटनामा संलग्न भएको भन्दै प्रहरीले मुद्दा चलाएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066