

ताप्लेजुङ — सोमबार बिहान पाथीभरा क्षेत्रमा भएको दुर्घटनाको दोष नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रलाई लगाइएको छ । केन्द्रले पनि यसलाई अस्वीकार गर्न सकेको छैन । उसले आइतबार बेलुका परेको चट्याङले बिजुलीको तारको पिन चुडिएको र त्यसको जानकारी आफुहरूले नपाएका कारण सोमबार बिहान दुर्घटना भएको भएको हुन सक्ने प्रतिक्रिया दिइरहेको छ ।
तर, गाडीमा आगो लागुन्जेल विद्युत् स्टेसनको ‘प्रोटेक्सन सिस्टम’ किन बन्द भएन भन्नेमा विद्युत प्राधिकरणका प्रमुखदेखि प्राविधिक कर्मचारी अचम्मित भएका छन् । प्रोटेक्सन सिस्टम बन्द भएको भए मानवीय क्षति कम हुने सम्भावना रहने विज्ञ बताउँछन् । किनकि बिजुलीको तारले गाडीमा छुनेबित्तिकै विद्युत् प्रवाह बन्द हुन्थ्यो । ‘बिजुलीको तारमा रुख, पोल, हाँगा झरे प्रोटेक्सन सिस्टम तत्काल बन्द हुनुपर्छ र हुन्छ,’ कार्यालय प्रमुख चौधरीले भने, ‘त्यही कारण झ्याप्प झ्याप्प बिजुली बन्द हुने गर्छ तर आज यो सिस्टम नै बन्द नभएकाले हामीलाई चिन्तित बनाएको छ ।’
गाडी पूरा जलुन्जेलसम्म तारमा करेन्ट प्रवाह भइरहेको थियो । सूचना पाएपछि मात्रै कार्यालयले विद्युत् बन्द गरेको थियो ।
घटनास्थलमा पुगेर फर्किएका विद्युत् वितरण केन्द्रका प्राविधिक कर्मचारी सुधीर सिग्देल करेन्ट लाग्नेबित्तिकै बाहिर निस्किएका यात्रुले जमिन र गाडीमा छोएकाले आगो बल्यो कि भन्ने शंका गर्छन् । करेन्ट लागेर जलेको गाडीको पूर्वपट्टिको भागमा पानीको दह छ । चालकले यही दह कटाएर सुक्खाबाट गाडी बढाउन खोज्दा करेन्ट लागेको देखिन्छ । सुकेटारदेखि काफ्लेपाटीसम्मको सडक निर्माणाधीन छ ।
वितरण केन्द्रका अनुसार ताप्लेजुङमा तीनवटा फिडर छन् । यसलाई ‘बजार, दोभान र पुरानो फिडर’ भनेर छुट्याइएको छ । फुङलिङ नगरपालिका-७ दोखु हिटिमा रहेको फिडरबाट तिनै ठाउँमा वितरण गरिन्छ । काफ्लेपाटी पाथीभरा क्षेत्रकोलाई पुरानो फुङलिङ फिडर भनिन्छ । यो फुङलिङ-७, ८, पाथीभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङ, फुङलिङ-६ गुम्बाडाँडा हुँदै बगरबारीदेखि पाथीभरातर्फ लगिएको छ । दोस्रो फिडरले बढी जनघनत्व भएको बजार क्षेत्रलाई समेट्छ । सबस्टेसनबाट मेदिबुङ पालुङवाचोक हुँदै आठराईत्रिवेणी, मिक्वाखोला गाउँपालिकातिर जान्छ ।
सोमबार सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चारजनाले ज्यान गुमाएका छन् । ललितपुर नगरपालिका-१० का १६ वर्षीय आध्या आचार्य, उनका मावलका हजुरबुबा भद्रपुर नगरपालिका-१५ का विनोद पौडेल र हजुरआमा सरिता पौडेल तथा जिप चालक ताप्लेजुङ फुङलिङ-१० फुरुम्बु निवासी दुर्गा भट्टराईको जलेर मृत्यु भयो । छोरा, छोरी र माइतीका आमाबुबा लिएर पाथीभरा हिँडेकी सबिना पौडेल घाइते भइन् । सबिनाका छोरा भविमय भने गाडीबाट हाम फालेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट राजधानी लगिएको छ भने मृतकको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । मृतक चालकका आफन्तले विद्युत् प्राधिकरणको लापरबाहीले यस्तो घटना भएकाले शव नउठाउने अडान लिएका छन् ।