१९ पुष २०८१, शनिबार

ताप्लेजुङका को अटाउलान मन्त्रीमा ?

Logo
ताप्लेजुङ प्रेस शनिबार, आषाढ २९, २०८१

ताप्लेजुङ – १८ महिनाको अवधिमा छैटौँ पटक बन्न लागेको मन्त्री परिषद्मा ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने तीन सांसदमध्ये को अटाउलान चासोको बिषय बनेको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुन लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङबाट एकजना मन्त्री बन्ने सङ्केत गरेको ओली निकटस्थहरू बताउँछन् । एमालेमा अहिले ओली बाहेक अरुलाई थाहा नहुने र सार्वजनिक भएको नाम पनि हट्न सक्ने भएकाले मन्त्रीका विषयमा कोही नेता बोलेका छैनन् ।

पार्टी पदाधिकारी बाटै बनाए एमाले सचिवसमेत रहेका योगेश भट्टराई मन्त्री बन्ने निश्चित छ । उनले शिक्षा मन्त्रालय पाउने चर्चा पनि छ । तर, ओलीले भट्टराईलाई संसदमै पार्टीको तर्फबाट बोल्ने सांसदको रूपमा राख्ने सम्भावना पनि त्यत्तिकै रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा होस या पार्टीको तर्फवाट धारणा राख्दा एमालेले अहिले भट्टराईलाई बोल्न अघि सार्दै आएको छ ।

यस्तै मन्त्रीमा सांसद उर्मीला थेवेको सम्भावना पनि बलियो छ । युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे बालकोटसँग नजिक भएकाले थेवेको सम्भावना नकार्न नसकिने एमाले नेताहरू बताउँछन् । तर, थेवे स्वयंले भनें मन्त्रीको विषय ‘पार्टी अध्यक्षज्यू’लाई मात्रै थाहा भएको बताए । ‘हाम्रो अध्यक्ष ज्यू हरेक विषयको जानकार हुनुहुन्छ । कस्तो व्यक्तिलाई मन्त्रीमा लैजाने उहाँले नै निर्णय गर्ने विषय हो,’ थेवेले भने, ‘यो पटक कार्य सम्पादन गर्नसक्नेहरू लाई मन्त्री बनाउने चर्चा छ ।’

यता, नेपाली कांग्रेसकी लिला बोखिम पनि मन्त्रीका लागि प्रयासरत रहेको पाइएको छ । कांग्रेसले पाउने १० मन्त्रीमा अहिलेससम्म आरजु राणाको नाम मात्रै चर्चामा रहेकाले महिला र आदिवासी समूहबाट समेट्नका लागि बोखिमको सम्भावना देखिएको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेसका प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा, जीवन परियार र अजय चौरसिया मन्त्रीको सूचीमा छन् । परियार शेखर कोइराला समुहका हुन् । सभापति शेरबहादुर देउवाले आफ्नो, कोइराला, गगन थापा, कृष्णप्रसाद सिटौला लगायतका समूहबाट पनि लैजानु पर्ने भएकाले मन्त्रीको दाबी गर्नेको संख्या ठूलो र मन्त्रीमा अटाउने कम हुनसक्ने नेता हरु बताउँछन् ।

सत्ता गठबन्धनमा राप्रपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुत्ति लगायतका पार्टीहरू पनि आएका र उनीहरूले पनि मन्त्रालय माग्ने भएकाले कांग्रेस एमालेको मन्त्रालय संख्या घट्न सक्ने कतिपयको बुझाई रहेको छ । फरक पार्टी भए पनि ओली नेतृत्वको मन्त्री हुने भएकाले एमालेबाट मन्त्री बने कांग्रेसबाट जाने सम्भावना कम हुनसक्ने पनि राजनीतिका जानकार बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066