१९ पुष २०८१, शनिबार

“लाहुरमा फेल, डाक्टरमा पास”

Logo
ताप्लेजुङ प्रेस,Taplejung Press बुधबार, साउन ०१, २०८१

ताप्लेजुङ — बेलायतको लाहुरे बन्ने प्रयासमा फेल भएका ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेका सुरेन्द्र आङबुहाङ डाक्टरमा पास भएका छन् । जनजाति समुदायमा अझै प्रतिष्ठाको विषय रहेको भर्तीमा फेल भएका उनले एमबीबीएसपछि लोकसेवा पनि उत्तीर्ण गरेर जिल्ला अस्पताल ताप्लेजुङमा पदस्थापन भएका हुन् ।

चाँगे माध्यमिक विद्यालयमा कक्षा-८ सम्म अध्ययन गरेका सरेन्द्रले ९ र १० झापाको वीर अमरसिंह माध्यमिक विद्यालयमा पढे । त्यसपछि ग्रीनल्याण्ड इन्टरनेशनल कलेज विराटनगरबाट आइएस्सी गरे । त्यही समयमा भर्ती जाने लहड चल्यो ।

त्यसैको तयारीमा हरेक साँझ बिहान दौडन्थे । हेभिङ, सेटअप जस्ता कसरत नियमित गर्थे । भर्तीको प्रतिष्पर्धामा पोखरासम्म पुगेपनि सफल भएनन् । त्यसपछि भने डाक्टर हुने रहर पलायो र पोखरातिर लागे । पोखराको मणिपाल कलेज अफ साईन्सबाट छात्रवृत्तिमा एमबीबीएस उत्तीर्ण गरेका उनले आफ्नै जन्मस्थल ताप्लेजुङको जिल्ला अस्पताललाई पहिलो कर्मस्थलपनि बनाएका छन् ।

दुई वर्षे करार नियुक्ति लिएर आएका उनले अहिले लोकसेवा उत्तीर्ण गरेपछि सरकारले कार्यरत जिल्लामै पदस्थापन गरिदिएको छ । ‘सैद्धान्तिक शिक्षा व्यवहारिक रुपमा लागू गर्न पाउँदा धेरै सिक्न पाएँ,’ आङ्बोहाङले थपे, ‘आफ्नै जिल्लामा काम गर्न पाउँदा गर्भ लागेको छ ।’ गाउँबाट आउने बिरामीले डाक्टर भनेर बोलाउँदा भन्दा पनि चाँगेको आङ्बोहाङ रे भन्दा खुसी लाग्ने गरेको सुनाउँछन् ।

करारको जागिर नवीकरण हुन पनि सक्ने र नहुन पनि सक्ने भएकाले उनले अस्पतालमा कामगर्दै लोकसेवाको तयारी गरेका थिए । कोशी प्रदेश लोक सेवा आयोगले लिएको पहिलो परीक्षामै सफलता हाासिल गरे ।

‘गाडीमा विराटनगरबाट झापा आउँदै गर्दा साथीले बधाई दिँदै सुनाएको उत्तीर्णको खबर मैले चाँहि आमालाई फोन गरेर सुनाएँ,’ सुरेन्द्रले भने । उनले अधिकृत आठौं तहमा नाम निकालेका छन् । सुरेन्द्रको अबको उद्देश्य एमडी गर्ने रहेको छ ।

उही ठाउँ र उही कार्यालय भएपनि पहिला करार र अहिले स्थायीमा अलि बढी सन्तुष्टिको महसुस उनमा छ । उनलाई आङ्बोहाङ समाज धरान सुनसरीले सम्मान समेत गरेको छ । समाजका वरिष्ठ उपाध्यक्ष उदय आङ्बोहाङ उनको हौसला बढाउन र अरुलाईपनि प्रेरणा बढाउन सम्मान गरिएको बताउँछन् ।

उदयले भने, ‘हाम्रो गाउँ चाँगे त दुर्गम छ । घरैपिच्छे जस्तो बुढापाका बिरामी छन् । उसको (सुरेन्द्र) फुर्सद हुँदा गाउँमा गएर बिरामी हेरिदेन भन्नपनि सकिन्छ । गाउँकै मान्छे उपचार गर्ने ठाउँमा हुँदा कता कता हर्ष हुँदो रहेछ ।’

इकान्तिपुर अनलाइन वाट साभार गरिएको

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066