

ताप्लेजुङ – प्रहरी नायब उपरीक्षक रबी रावलले विपत्मा परेका नागरिकको उद्धार र सहयोगका लागि हरेक प्रहरी चनाखो भएर बसेको बताएका छन । जिल्लामा बाढी पहिरोका कारण बिपतजन्य घटना भइरहदा आफ्नो हरेक युनिटका प्रहरी तैनाथ भएर बसेको बताएका हुन् ।
‘ताप्लेजुङमा ३८ वटा प्रहरी पोष्ट छन्,’ रावलले भने, ‘जिल्ला प्रहरीमा ३५ र इलाकामा १०–१० जनालाई विपत ब्यवस्थापनका लागि खटाएका छौ ।’ सबै चौकीका प्रहरी सकृय रहेको रावलको दावी छ । ‘पहिलो प्रयास समन्वय गर्ने, घटनास्थलमा पुग्ने र उद्धारको कार्यमा लाग्ने हो,’ रावलले भने, ‘यसवर्ष विपत् देखिएका फक्ताङलुङ, सिदिङवा, सिरिजङ्गा लगायतका स्थानमा प्रहरीले पूर्ण सकृयता देखाएको छ ।’ नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाले समन्वयमा काम गरिरहेको पनि उनले बताए ।
‘संरचनागत हिसाबले नेपाल प्रहरी धेरै ठाउँमा छ । घटनाको सूचना पाउनासाथ तत्काल घटनास्थलमा जान्छ । आवश्यक जनशक्ति त्यहाँको वातावरण अनुसारको रिर्पोटिङ गरेपछि जिल्लामा अन्य निकायले समन्वय गरेर काम गरेका छौं’ रावलले भने । वाढी पहिरोका कारण यो वर्ष पाँच जनाको ज्यान गइसकेको छ ।