

ताप्लेजुङ- २०८० असार २ गतेको वर्षा र बाढीले पाँचथरको हेवाखोलाको मोटरवेल पुल बगायो । तीन महिना लगाएर सडक विभागले बेलिब्रिज बनायो । डेढ बर्स नहुँदै असोज १२ गते बिहानको बाढीले त्यही ठाउँको पुल फेरी बगाएको छ । यसले ताप्लेजुङमा चिन्ता छाएको छ ।
दशैं नजिकिँदै गर्दा झापाको बिर्तामोड देखि इलाम, पाँचथर हुँदै यातायात चल्ने मेची राजमार्गको यो एक मात्र सडक र महत्वपूर्ण पुल हो । यसले ताप्लेजुङको पुरै जिल्ला पाँचथरको हिलिहाङ, याङवरक र तेह्रथुमको आठराई गाउँपालिकालाई जोडेको छ । स्थानीय हेवाखोला पुल छेवैमा होटल सञ्चालन गर्दै आएकी धनमाया सुनुवारका अनुसार खोलाले गहिरोगरी खोलेको छ र वारिपारि भागपनि पहिरो बनाएर बगाएको छ । यात्रु लिएर हेवाखोला पुगेका गाडी चालक भुवन मोक्तान तत्काल यातायात चल्नेगरेको सडक बन्ने सम्भावना कम देखेको बताउँछन् । यदि उनले भनेजस्तै भएमा खाद्यान्न, तेल लगायतका सामग्री पुलवारि ल्याउन समस्या हुने उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका महासचिव कमल लिम्बू बताउँछन् ।
शनिवार बिहान ताप्लेजुङबाट यात्रु लिएर गएका कतिपय सवारी साधन यात्रु लिएरै फर्किए भने कतिपय यात्रु पैदल हिडेर झोलुङ्गेपुल तरेर पाँचथर सदरमुकाम फिदिम तर्फ गए । ‘हामी खोलो तर्न दुई-तीन मिनेट ढिलो भयौं,’ ताप्लेजुङबाट काठमाण्डु हिँडेका माओवादी केन्द्रका केन्द्रीय सदस्य डन्डु शेर्पाले भने, ‘थुप्रैजना भएर झोलुङ्गेपुल तरेर फिदिम पुग्यौँ ।’ एक घण्टा बढी घुम्नु परेको उनले बताए । धनकुटाको बसन्तपुर, तेह्थुमको गुफा हुँदै ताप्लेजुङको मिक्वाखोला भएर ताप्लेजुङ जोडिने भएपनि यो सडक खासै प्रयोगमा छैन । गत बर्स पुल भत्किएपछि स्थानीय प्रशासन, स्थानीय सरकार, सडक डिभिजन लगायतका निकायले तुइन लगाएर बासको फड्के बनाएर मान्छे तर्ने ब्यवस्था मिलाएका थिए । ह्युम पाइप राखेर डाइभर्सन बनाउने र यातायात सञ्चालन गर्ने प्रयास गरेका थिए । तर यी अस्थायी संरचनाले दिगो नहुने भएपछि बेलिब्रिजका तागेता गरिएको थियो । पटकपटक आएको बाढीले तुइन बाहेकका सबै संरचना बगाएको थियो । यही खोलाले बगाएको तमोर करिडोरको पुल अहिलेसम्म बनेको छैन । ताप्लेजुङबाट बाहिर जिल्ला जान यसको मात्रै प्रयोग हुँदै आएको थियो । यस पटकको बर्षाले ताप्लेजुङका ग्रामीण सडकमा यातायात चल्न कठिन बनाएको छ । नियमित चल्ने मेची राजमार्गको खोक्से खोलामा शनिवार दिउसो सडक अवरुद्ध भएपनि तीन घण्टा मेसिन प्रयोग गरेर खुलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।