

ताप्लेजुङ – पाँचथरका दुई गाउपालिका सहित ताप्लेजुङको मुख्य सरोकार रहेको हेवाखोलामा झोलुङ्गेपुल बनाउने प्रयासमा स्थानीय प्रशासन र स्थानीय तह लागेका छन् । पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटाका अनुसार आइतबार बिहान सर्वपक्षीय टोलीको अनुगमनपछि यस्तो तयारी गरिएको हो ।
यात्रुहरूको सहजताका लागि मोटरसाइकल समेत तार्न सक्नेगरिको पुल बनाउने र त्यसमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई अनुरोध तथा परिचालन गर्ने निर्णय भएको छ । झोलुङ्गेपुल बनाउन एउटा लट्ठा भएपनि अरु तीनवटा लट्ठाको खोजी भइरहेको बाँस्कोटाले बताएका छन् ।
पाँचथरको फिदिमदेखि राके सम्मको सडक खण्ड समेत अवरुद्ध भएकाले सडक डिभिजन कार्यालय त्यो क्षेत्र खुलाउन क्रियाशील रहेको छ । त्यो खण्ड खुलेपछि मात्रै हेवा खोलामा केन्द्रीत हुने सडक डिभिजन कार्यालय इलामको तयारी छ । मेची राजमार्गको झापा चारआली देखि ताप्लेजुङ सम्म इलाम कार्यालयले नियमन गर्दै आएको छ । सडक अवरुद्ध भएपछि मेची राजमार्गमा छोटो दूरीका सवारी साधन फाट्टफुट्ट मात्रै चलेका छन् ।