ताप्लेजुङ – पाथीभरामा मङ्गलबार असोज महिना यताकै सबैभन्दा वढी तीर्थयात्रीले पुजा पाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार १ हजार ४ सय ९५ जनाले दर्शनार्थी मन्दिर पुगेका हुन् ।
यो सङ्ख्या दशैं अगाडिको नौरथाको नौदिनमा पनि पुगेको थिएन । असोज १० देखि १२ गतेसम्मको वर्षा र बाढीले मेची राजमार्ग तथा तमोर करिडोरको सडक अवरुद्ध भएपछि पाथीभरा सुनसान बनेको थियो ।
सडक पुनर्निर्माण भई यातायात सहज भएसँगै तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भएको हो । समितिका अनुसार सोमबार ४ सय २७ जना मन्दिर पुगेका थिए । अघिल्ला वर्षको तथ्याङ्क अनुसार असोजदेखि मङ्सिरसम्म अधिक तीर्थयात्री आउने गरेका छन् ।
तीर्थयात्रीको सङ्ख्या बढेपछि स्वयंसेवक परिचालन लगायतका विषयमा छलफल गर्ने समितिका कार्यकारी निर्देशक रक्की थेवेले जानकारी दिए ।