

ताप्लेजुङ – ६९ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ११ प्रहरीलाई नगद सहित पुरस्कृत गरेको छ । उनिहरु लाई वर्षभरिमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीको रुपमा पुरस्कृत गरेको हो ।
उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा पुरस्कृत हुनेमा प्रहरी सहायक निरीक्षक हेमनारायण यादव, प्रहरी हवल्दार वेदबहादुर श्रेष्ठ र अनु भुजेल, प्रहरी सहायक हवल्दार प्रमोद निरौला पुरस्कृत भएका छन् । प्रहरी जवान तर्फ मीनाकुमारी आङदेम्बे, सपना सुनार, मुकेश चौधरी, पुष्पनारायण अधिकारी, विशाल तामाङ र प्रहरी कार्यालय कर्मचारी मुक्ति केदेमलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
असोज महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा भनें जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेत पुरस्कृत भएका छन् । उनिहरुलाई प्रहरी नायब उपरीक्षक रवि रावलले पुरस्कार प्रदान गरेका थिए । प्रहरी दिवसको अवसरमा आयोजित पुरुष डोल्स ब्याड मिन्टन प्रतियोगितामा प्रथम हुने प्रहरी सहायक हवल्दार बिनोद कन्दङवा र अर्जुन राई तथा द्वितीय हुने प्रहरी वरिष्ठ हवल्दार सन्तोषकुमार तामाङ र प्रहरी जवान दीपेन्द्र राईलाई सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले पुरस्कार मेडल, कप र प्रमाणपत्र प्रदान गरिन ।
अमर प्रहरी परिवारका सदस्यद्वय रामकुमारी सुब्बा थापा र आइतरानी लिम्बूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । प्रहरी कार्यालयलाई रचनात्मक सहयोग गर्ने मिक्वाखोला गाउँपालिका, पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिका वडा नं ९ लाई कदरपत्र सहित सम्मान गरियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले नागरिकको जनधनको सुरक्षाका लागि खटिने प्रहरिका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने प्रस्ताव सरकार समक्ष राखेका छन् ।