

ताप्लेजुङ – पार्टी सभापति रवि लामिछानेको रिहाइ, काँग्रेस नेता धनराज गुरुङ, ऋषिकेश पोख्रेल लगायतलाई कारवाहीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको छ । जिल्ला सहसंयोजक दावा शेर्पाको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का मार्फत जिल्ला प्रशासन कार्यालयबाट ज्ञापनपत्र पठाएको हो ।
एउटै माग र एकै प्रकृतिको ज्ञापन पत्र देशभरबाटै बुझाए पनि हस्ताक्षर भने जिल्ला नेतृत्वले गरेको पाइएको छ । सातबुँदे ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधका आधारमा पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाइएको छ । उनलाई अविलम्ब रिहा गर्नपनि माग गरिएको छ ।
भुटानी शरणार्थी काण्डको निष्पक्ष छानबिन गरी कारवाही गर्नुपर्ने, २०४६ साल पछिका भष्ट्राचारजन्य अपराधको छानविनका लागि छुट्टै संयन्त्र खडा गरी अनुसन्धान तथा कारवाही गर्नुपर्ने, सहकारी रकम अपचलन तथा मिटरब्याजीको खोजी गरी कारवाही गर्नुपर्ने माग गरिएको छ । यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा हेल्प डेक्स स्थापना गर्नपनि माग गरिएको छ ।
एमाले केन्द्रीय पार्टी कार्यालय निर्माण लगायतको विषयपनि ज्ञापन पत्रमा उठाइएको छ । सहायक प्रजिअ खड्काले आफूले गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाएको सहभागी रास्वपाका युवराज बरालले जानकारी दिए ।