
अविरल वर्षा र बाढी पहिरोका कारण फक्ताङलुङ गाउँपालिकाले वार्षिक क्यालेन्डरविपरीत विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठकले बर्खे बिदा सुरु हुनु १० दिन अगावै असार १० गतेदेखि विद्यालय बन्द गर्न निर्देशन दिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार असार १०देखि साउन ९ गतेसम्म एक महिना बिदा गर्न निर्देशन दिइएको हो । पालिकाको वार्षिक क्यालेन्डरअनुसार असार २० देखि साउन १९ सम्म बिदा गर्ने कार्यसूची रहेको थियो । यो नियम फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सा र वडा नम्बर ७ ओलाङचुङगोलामा भनें लागू हुँदैन । हिउँ पर्ने यी क्षेत्रमा भने पुस माघमा बिदा हुने गरेको छ ।
वर्षा र पहिरोका कारण यो गाउँपालिका २ खेजेनिममा चार जनाको ज्यान गइसकेको छ । बाढी तथा पहिरोका कारण विद्यार्थीहरु स्कुल आउनसक्ने वातावरण नभएका कारण कार्यपालिका बैठकले यस्तो निर्णय गरेको तेम्बेले बताए ।
जिल्ला विपत व्यवस्थापन समितिका अनुसार ७ वटा वडा रहेको यो पालिकाका सबै वडा बाढी र पहिरोको जोखिममा छन् ।
ईकान्तिपुर वाट साभार