

ताप्लेजुङ — पटका खोजेको प्रहरीले ५० कार्टुन सिक्किमको मदिरा बरामद गरेको छ । भारतको सिक्किमबाट भन्सार छलेर ताप्लेजुङतर्फ ल्याउदै गरेको छ सय बोतल सिक्किमे रम (मदिरा) सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार पाथीभरा याङवरक-१ नाङखोल्याङ मेवाखामा नियमित जाँचको क्रममा प्रहरीले ७ सय ५० एमएलको ५० कार्टुन रम बरामद गरेको हो । मे१च ४२१४ नम्बरको पिकअप गाडीसहित चालक सनम राई र सामान धनी महेन्द्र बर्देवालाई अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पशुपतिनगर इलाम पठाइएको प्रहरी नायव उपरी0क्षक रवि रावलले वताएका छन् । उनका अनुसार वरिपरि मिनिरलवाटरको बोतलले बेरेर मदिरा ल्याएको पाइएको छ ।
भारतीय रुपैयाँ २ सयको रक्सी र गाडी समेतको गरी ७ लाख बराबरको सामान रहेको प्रहरीले जनाएको छ । तिहार नजिकिँदै गर्दा पटका लगायतका विस्फोटक पदार्थ भित्र्याउने आशंकामा प्रहरीले निगरानी बढाएको छ । पटका खोज्ने क्रममा मदिरा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
नेपाल प्रहरीले यति ठूलो परिमाणमा सिक्किमबाट आउने मदिरा बरामद गरेको यो पहिलो पटक हो । डेढ दशकअघि सशस्त्र प्रहरीले एक पटक यसरी भारतबाट आएको रक्सी बरामद गरेको थियो ।