

ताप्लेजुङ – सिरिजङ्गा गाउँपालिका ३ सिकैचामा पनि आगामी मंसिर १६ गते वडाध्यक्षको निर्वाचन हुने भएपछि राजनीतिक दलहरू तिहारपछि त्यसतर्फ केन्द्रीकृत हुने भएका छन् । एमालेले तिहारपछि गाउँकमिटीको बैठक बसेर उम्मेद्वार नाम सिफारिस गर्ने भएको छ ।
सिकैचा घर समेत भएका एमाले जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङ तिहारपछि देखि छलफल प्रारम्भ हुने र निर्वाचन कार्यक्रम आएपछि उम्मेद्वार छनोट गर्ने बताउँछन् । ‘कार्यकर्तामा उम्मेद्वार को भन्ने चासो सुरु भएको छ,’ उनले भने, ‘अब निर्वाचन कार्यक्रम पनि आउछ, तिहार पनि सकिन्छ अनि हामी त्यसतर्फ केन्द्रीत हुन्छौँ ।’
गत निर्वाचनमा ३ मतले मात्रै पराजित कुमारी सावदेनले इच्छा राखे उनकै उम्मद्धारी हुने सम्भावना रहेको एमाले नेता कार्यकर्ता बताउँछन् । ‘यो पार्टीले निर्णय गर्ने विषय हो र अब पालिका कमिटीबाट निर्णय प्रकृयाको सुरु होला,’ एमालेका सन्तोष प्रसाईंले भने, ‘झीनो मतले हारजित हुनुभएको हो फेरी जिल्लामा मात्रै एकजना महिला उम्मेद्वार हुनुहुन्थ्यो, चाहना राखे उहाँकै सम्भावना होला जस्तो लाग्छ ।’ तर यो निर्णय पार्टीको भएको उनले बताए ।
सावदेनलाई नेता कार्यकर्ताले अनौपचारिक रुपमा सोद्धने गरेको र उनले तपाईंहरू के भन्नु हुन्छनी भनेर जवाफ दिने गरेको एक नेताले बताए । उपनिर्वाचनकालागि मंसिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले कात्तिक ११ गतेमात्रै वडाध्यक्षको निर्वाचन गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्धव राज दुलालका अनुसार कात्तिक २६ गते निर्वाचन अधिकृत नियुक्त गरिने छभने ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । हङकङ गएका वडाध्यक्ष दिलप्रसाद बोखिमले उतैबाट राजिनामा पत्र पठाएपछि वडाध्यक्षको निर्वाचन हुन लागेको हो ।