
सीमा तामाङ
चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ बराबरको ४७ लाख १९ हजार ९४५ किलो अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा मूल्य र परिमाण दुवैका आधारमा निर्यात घटिरहेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ बराबरको ९३ लाख ८६ हजार ५६९ किलो अलैंची निर्यात भएको थियो ।
अलैंची उत्पादन र निर्यात घट्यो
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा अलैंची निर्यात रकम र परिमाण दुवैमा घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष मूल्यको आधारमा अलैंची निर्यात २.९२ प्रतिशतले घटेको विभागको तथ्यांक छ । परिमाणका आधारमा ४९.७१ प्रतिशतले अलैंची निर्यात घटेको विभागले जनाएको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको अलैंची उत्पादन ५० प्रतिशतले घटेको तर मूल्य वृद्धि भने भएको नेपाली अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । ‘उत्पादन ५० प्रतिशतले घट्यो, त्यसैले अलैंचीको परिमाण पनि स्वाट्टै घट्यो । तर मूल्यवृद्धि भएकाले निर्यात मूल्यमा भने खासै फरक परेन,’ उनले भने । गत आर्थिक वर्षभर ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ बराबरको ९९ लाख ९१ हजार १४९ किलो अलैंची निर्यात गरेको थियो । गत वर्ष प्रतिमन ६० हजार रुपैयाँमा कारोबार भएको अलैंची यस वर्ष ९० हजार रुपैयाँमा कारोबार भएको भट्टराईले बताए । उत्पादन घटे पनि मूल्य बढेकाले अलैंचीको निर्यात मूल्यमा खासै असर नपरेको उनको भनाइ छ । यद्यपि अलैंची उत्पादन नघटेको भए यस वष १२ अर्ब रुपैयाँसम्मको अलैंची निर्यात गर्न सकिने उनको आकलन छ ।
पछिल्ला दुई वर्षदेखि समयमा पानी नपर्ने, नचाहिने बेला पानी पर्नेलगायत विविध कारण अलैंची उत्पादन घटिरहेको महासंघले जनाएको छ । ‘अलैंचीका लागि माघ र फागुनमा पानी पर्नुपर्थ्यो । तर यसपालि चैतमा पानी पर्यो । सुक्खायामका कारण अलैंचीका बोट पनि मरे,’ उनले भने, ‘यसपालि ५० प्रतिशत अलैंची उत्पादन घटेको थियो । त्यसैले अब थप २० देखि २५ प्रतिशत उत्पादन घट्छ ।’
कृषि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९ को तथ्यांकअनुसार देशभर १५ हजार ९ सय ७५ हेक्टर जग्गामा अलैंची खेती हुन्छ । यसबाट उक्त वर्ष ८ हजार ७ सय १४ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७७/७८ मा १५ हजार ६ सय ६८ हेक्टर जग्गामा अलैंची खेती हुँदा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको थियो ।
आर्थिक वर्ष ०७६/७७ मा १६ हजार ५ सय ६२ हेक्टर जमिनबाट ९ हजार ५ सय ४५ टन अलैंची उत्पादन भएको थियो । आर्थिक वर्ष ०७५/७६ मा १५ हजार ५५ हेक्टर जमिनमा अलैंची खेती भएको थियो । उक्त वर्ष ७ हजार ९ सय ५४ टन उत्पादन भएको कृषि तथ्यांक छ ।
अलैंची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत हो । हालसम्म ४३ जिल्लामा अलैंची उत्पादन हुँदै आएको महासंघले जनाएको छ । मुलुकमा उत्पादित २ प्रतिशत अलैंची मात्रै आन्तरिक खपत हुने व्यवसायी बताउँछन् । नेपाली अलैंचीको मुख्य बजार भारत मात्र रहँदै आएकामा पछिल्लो समय जर्मनी, इटाली, अमेरिका, पाकिस्तानलगायत मुलुकमा निर्यात हुन थालेको छ । भारतमा कच्चा पदार्थका रूपमा अलैंची जाने गरेको छ ।
पछिल्लो समय प्रशोधन गरी निर्यात गर्दा अनुदानसमेत पाइने हुँदा व्यवसायी त्यसतर्फ पनि आकर्षित भइरहेका छन् । निर्यातजन्य वस्तु भए पनि अलैंचीतर्फ तीन तहकै सरकारको ध्यान नगएको उनीहरू बताउँछन् । केही स्थानीय तहले किसानलाई अलैंचीको बिरुवा रोप्न दिने तर त्यसलाई आवश्यक सिँचाइ, औषधितर्फ ध्यान नदिएको भट्टराईको भनाइ छ । अलैंचीको मूल्य पर्याप्त पाइने भएकाले किसान आफैं आकर्षित हुन थालेको समेत उनले जनाए ।
‘उत्पादन भयो भने अलैंचीको राम्रो भाउ पाइन्छ । त्यसैले किसान आफैंले सिँचाइका लागि पाइप, कुलो खन्नेलगायत काममा जोड दिन थालेका छन्,’ उनले भने । पछिल्लो समय अलैंचीलाई आवश्यक पर्ने बेला पानी नपर्नेलगायत समस्याले उत्पादन घटिरहेको छ ।
कान्तिपुर अनलाईनको अर्थवाणिज्य पेजवाट साभार