
ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउपालिका ३ सिकैचामा मंसिर २६ गते वडाध्यक्षको निर्वाचन हुदैछ । त्यसका लागि मंसिर २ गते उम्मेद्वार मनोनयन दर्ता हुन्छ । त्यो मिति आउन अब १२ दिनमात्रै बाँकी रहेको छ । जिल्लाका ६१ वटा वडामध्ये एउटा वडामा हुने निर्वाचनमा दलहरूको ध्यान जानुपर्ने समय भएको हो । तर, अहिलेसम्म चुनावी गतिविधि नबढेको स्थानीय बताउँछन् ।
स्थानीयले जिल्लाका नेताहरूको मुख ताकेका छन् । माथिबाट के भन्छन् भन्ने उनीहरूको अपेक्षा छ । जिल्लाका नेताभने वडाको निर्वाचन भएकाले वडालेनै मिलाउने विषय भएको बताउँछन । काग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्र प्रसाद तुम्याहाङ निर्वाचनका विषयमा खासै धेरै चर्चा भइनसकेको बताउँछन् । वडाको विषय भएकाले वडा कार्यपालिका र सिरिजङ्गा गाउँपालिकाले तयारी गरिरहेको होला भन्ने उनलाई लागेको छ । तिहार मान्न खेवाङ पुगेका उनले अबको दुईदिनमा जिल्ला सदरमुकाम फर्कने र साथीहरूसँग परामर्श गर्ने बताए । ‘वडा र पालिकामा छलफल हुदैहोला, अहिलेसम्म म उम्मेद्वार हुन्छु भनेर मसँग चाही कसैले भनेको छैन,’ तुम्याहाङले भने, ‘अब जिल्लालेपनि चासोचाहिँ बढाउनु पर्छ ।’
यस अघि यहा काङ्ग्रेसका उम्मेद्वार दिलप्रसाद बोखिम तीन मतले बिजयी भएका थिए । उनले एमालेका कुमारी साउदेनलाई झिनो मतले पराजित गरेका थिए । उनी हङकङ गएर उतै बस्न थालेपछी खोजी सुरु भएको थियो । वडाध्यक्षको खोजी सुरुभएपछि उनले उतैबाट राजिनामा पठाएका थिए । नेकपा एमालेले पनि खासै छलफल नभएको बताएको छ । सिकैचानै घरभएका जिल्ला कमिटी सचिव एवं पाटी प्रवक्ता सन्तोष चाम्लिङ वडाले निर्णय गर्ने बताउँछन् । ‘वडापाटी कमिटीले कार्यसूची बनाएर प्रकृया अगाडि बढाउछ,’ उनले भने, ‘वडाले सर्वसम्मत उम्मेद्वार चयन गरे पालिका कमिटी र जिल्ला कमिटीले त्यसैलाई अनुमोदन गछर्न ।’ एक भन्दाबढी उम्मेद्वार भए पालिका वा जिल्लाले टुङ्ग्याउने तर वडामै सर्वसम्मत होला भन्ने लागेको उनले सुनाए । एमाले स्रोतका अनुसार यसअघिकै उम्मेद्वार सावदेनलाई उठाउने तयारीमा पाटी छ ।
माओवादीका जिल्ला नेतापनि वडाको निर्णय कुरेर बसेका छन् । जिल्ला इन्चार्ज खेलप्रसाद बूढाक्षेत्रीले वडामा छलफल भइरहेको र वडालेनै टुङ्गो लगाउनेमा बिश्वस्त रहेको बताउँछन् । ‘साथीहरु वडामा छलफल गर्दै हुनुहुन्छ होला,’ वुढाक्षेत्रीले भने, ‘वडामा सहमती नभए पालिकाले अन्तिम निर्णय गर्छ, जिल्लामा आउदैन ।’ राष्ट्रिय स्वतन्त्र पाटीलेपनि उम्मेद्वार खोजी गरिरहेको छ । पाटीको सिद्धान्त निष्टा बोक्न सक्नेभए उम्मेद्वार उठाउने जिल्ला संयोजक बिरेन्द्र श्रेष्ठले वताए । अन्य राजनीतिक दललेपनि उम्मेद्वारका विषयमा छलफल गरिरहेको जनाएका छन् ।
यो वडामा १५ सयको हाराहारिमा मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘अहिलेसम्मको तथ्यांक अनुसार १५ सय २८ मतदाता छन्,’ निमित्त निर्वाचन अधिकारी विपिन दुलालले भने, अव आयोगले अन्तिम नामावली प्रकाशन गर्छ त्यो मात्रै आधिकारीक हुन्छ ।’ आयोगले कार्तिक २६ गतेसम्म अन्तिम नामावली प्रकाशनको तयारी गरेको जनाएको छ । यहा कुञ्जारी र ओसे गरी दुई केन्द्रमा मतदान हुनेछ ।